पोखरा । होटल व्यवसायी महासङ्घ नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा तथा ५ औँ महाधिवेशन पोखरामा गर्ने भएको छ । महासङ्घले यही चैत २७ र २८ गते पोखरामा साधारणसभा तथा महाधिवेशन गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरेर दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष दिनेश कुमार चुकेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार चैत्र २५ गते महासङ्घको सचिवालय बैठक र २६ गते कार्यसमिति तथा सल्लाहकारको बैठक हुनेछ । महाधिवेशनमा देशैभरका आवद्ध प्रदेश सङ्घहरू, ६० जिल्ला गरी जम्मा १०० संघहरूबाट ५०० प्रतिनिधि र २०० पर्यवेक्षकहरू सहभागी बन्नेछन् ।
अध्यक्ष चुकेका अनुसार होटल, रेस्टुरेन्ट, बार, रिसोर्ट लगायत खाद्य तथा आवास क्षेत्रले देशको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। देशभर रहेका होटल तथा रेस्टुरेन्ट व्यवसायमार्फत लाखौँ मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध रहेको पनि महासङ्घले जनाएको छ।
महासङ्घले सरकारसँग पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीति निर्माण, व्यवसायमैत्री वातावरण सिर्जना, कर तथा विभिन्न प्रशासनिक झन्झटहरू सरलीकरण गर्न माग गरेको छ। साथै, स्थानीय तहदेखि सङ्घीय सरकारसम्म समन्वय गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। त्यस्तै, होटल व्यवसायीहरूले भोगिरहेका समस्या—जस्तै अत्यधिक कर, भाडादर वृद्धि, तालिम तथा दक्ष जनशक्तिको अभाव—समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। महासङ्घले व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।
महासङ्घले आगामी दिनमा सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा, महासचिव टी.आर. भण्डारी ‘शंकर’ लगायतले बोलेका थिए ।















