पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले बाह्रौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत सङ्कलन भएको छ । शनिबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पहिलो रक्तदाता बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्‌घाटन गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसन व्यापारीहरूको संस्था भए पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दे आइरहेकोमा धन्यवाद दिदैँ सङ्घ संस्थाहरू नेपाल सरकारको तथा संस्थाको आफ्नो विधान अन्तरगत चल्नुपर्ने बताउँदै नेपालको कानुन भन्दा माथि कोही पनि नहुने बताए ।

 पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा महानगरपालिकामा आफ्नो तर्फबाट एशोसियसनलाई के कस्तो सहयोग तथा सल्लाहको आवश्यकता पर्छ सहयोग गर्ने आफू प्रतिवद्ध रहेको बताउँदै पोखराको नै पुरानो मार्केट विशाल बजारको साख बचाई राख्न एशोसियसनलाई आग्रह गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले सबैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदैँ आफूले व्यवसायीहरूको हक हितको लागि सदैव आवाज उठाउने गरेको बताउँदै आगामी दिनमा पनि उठाउने बताइन् । 

रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले एशोसियसनले सामाजिक उत्तरदायित्व बहन गर्दे बाह्रौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।  कार्यक्रममा  नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बराल कस्मेटिक व्यवसायी सङ्घकी उपाध्यक्ष सरू बराल लगायतले बोलेका थिए । 

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले बुद्ध विशाल बजारले सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण संरक्षण लगायतका कार्यक्रम गर्दै आएको बताए । 

एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले एशोसियसनमा आवद्ध व्यवसायीबाट वार्षिक दुई करोड भन्दा बढि कर तिरिदै आएको बताए। बजारमा एक सय ८२ व्यापारीहरू रहेको र पाँच सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको उनको भनाइ थियो ।  एशोसियसनका महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रको टोलीले विशेष सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0