पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा ५ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम आयोजना गरियो । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आयोजित रक्तदानमा ४४ युनिट रगत सङ्कलन भएको वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । रक्तदान कार्यक्रममा बोल्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य दिलिप बिक्रम शाहीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा कास्की जिल्ला अध्यक्ष वैन बहादुर क्षेत्री, पूर्व सङ्घीय सांसद दामोदर पौडेल बैरागी, रेडक्रस जिल्ला उपसभापति रमा कोइराला, वडा अध्यक्ष विष्णु प्रसाद बराल, पूर्व वडाध्यक्ष धन बहादुर नेपालीको उपस्थिति रहेको थियो। त्यसैगरी नेतृ अन्जु केसी, उज्वल खत्री, कल्पना भुवाजी, हरि सुनार, वडा सदस्य गोविन्द पराजुली, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा. डा.सरोज कोइराला लगायतको समेत सहभागिता रहेको थियो।
नेकपा एमाले वडा कमिटी पोखरा ५ अध्यक्ष लक्ष्मण बरालले पोखरामा रगतको अभावलाई रक्तदान कार्यक्रम गरिएको बताए । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा नआएपनि त्यसको वृहत समीक्षा गरी गतिविधिहरू अघि बढाएको बताए । कार्यक्रमको सञ्चालन सचिव वसन्त गौतमले गरेका थिए।
सोही कार्यक्रममा पोखरा–५ निवासी क्षयरोग पीडित मनोज सिकेको निधन पश्चात् आर्थिक अवस्था कमजोर भएकाले दाहसंस्कारका लागि पार्टी कमिटीको पहलमा १३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो। उनका दुई नाबालक सन्तान छन्। कार्यक्रमले सामाजिक सेवासँगै मानवीय संवेदनालाई समेत उजागर गरेको आयोजकले जनाएको छ।
















