पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा “विश्वविद्यालय उन्मुख पृथ्वीनारायण क्याम्पसः सम्भावना र चुनौती” विषयक गोष्ठी सम्पन्न भएको छ ।  राजनीति शास्त्र विभाग, सूर्यरत्न शाक्य प्रतिष्ठानको आयोजनामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.केशरजंग बरालको प्रमुख आतिथ्यतामा  सो गोष्ठी सम्पन्न भएको हो । सोही अवसरमा एमए राजनीति शास्त्र टपर धर्मराज बराललाई नगद रु १० हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. केशरजङ्ग बरालले पृथ्वीनारायण क्याम्पसमा विश्वविद्यालय बन्नका लागि आवश्यक जनशक्ति, सङ्काय, भौतिक पूर्वाधार र विद्यार्थी सङ्ख्या पर्याप्त मात्रामा भएको बताए । काठमाडौँ, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा भन्दा बढि विद्यार्थी भएर पनि पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय बन्न नसकेको बताउँदै त्यसका लागि सबैले पहल गर्नुपर्ने बताए ।

राजनीति शास्त्र विभाग, सूर्यरत्न शाक्य प्रतिष्ठानका अध्यक्ष डा. गिरीधारी दाहालले पोखरामा पर्याप्त मात्रामा विश्वविद्यालयहरू रहेपनि सर्वसाधारण विद्यार्थीका लागि पहुँचयोग्य नभएको बताए । यदि पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय बन्ने हो भने प्राविधिक भन्दा समाजशास्त्र, कानुन, व्यवस्थापन, मानविकी, शिक्षा सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सुलभ र पहुँचयोग्य बन्ने बताए । हाल पृथ्वीनारायण क्याम्पसमा २८ वटा सङ्कायमा पढाई हुने गरेको उनले बताए ।

पृथ्वीनारायण क्याम्पसमा एमफिल र पिएचडीका कक्षा सञ्चालनका लागि पनि पहल भइरहेको बताए । पृथ्वीनारायण क्याम्पस विश्वविद्यालयमा परिणत गर्ने हो भने मुलुकलाई आवश्यक जनशक्ति यहाँबाट उत्पादन गर्न सकिने राजनीति शास्त्र विभागका विभागीय प्रमुख समेत रहेका डा.दाहालको भनाई छ । यहाँका विद्यार्थीहरूले थुप्रै गोल्डमेडलहरू जितिसकेको बताउँदै विश्वविद्यालय बनेमा शैक्षिक गुणस्तर थप बढाउन सकिने बताए ।

सचिव सहप्राध्यापक डाक्टर भिमनाथ बरालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन राजनीतिक दलहरूले पनि पहल गर्नुपर्ने बताएका थिए । साथै यसलाई भागबन्डा भन्दा माथि उठेर सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0