पोखरा ।  ग्लोबल मनि वीक २०२६ सुरु भएको छ । सप्ताहको पहिलो दिन सोमबार पोखरामा नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले विद्यार्थी सँग बैङ्किङ बीमा र धितोपत्र लगायतका वित्तीय शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा पोखरामा रहेका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरू सहभागी थिए । स्मार्ट मनि टक भन्ने नारासहित यसवर्षको ग्लोबल मनि वीक मनाइदै छ । 

अन्तरक्रियामा बोल्दै नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका निर्देशक केशव प्रसाद तिमिल्सिनाले ग्लोबल मनि वीकको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । उनका अनुसार यो सप्ताह हरेक वर्ष मार्च १६ देखि २२ तारिम (चैत्र २ देखि ८ गते) सम्म मनाउने गरिन्छ । ग्लोबल मनि वीकमा बालबालिका र युवा लक्षित वित्तिय साक्षरता एवं सचेतना कार्यक्रमहरू गर्ने गरिएकोमा यसवर्ष पहिलो दिन विद्यार्थी सँग वित्तीय शिक्षा सम्बन्धी अन्तरक्रिया गरिएको बताए ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका उप निर्देशक राम कुमार कार्कीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै विभिन्न प्रलोभनमा पारेर स्क्याम गर्ने घटना बढिरहेको बताए । मानिसहरु वित्तीय रुपमा साक्षर नहुँदा र सजिलै विश्वासमा पर्नाले ठगीमा पर्ने गरेको बताए । उनले कसैले डिजिटल प्लेटफर्म वा म्यासेजमार्फत पैसा मागिरहेको भए फोन गरेर निश्चित गरेपछि मात्र दिन समेत आग्रह गरे ।

प्राइम बैङ्क लिमिटेड गण्डकीका प्रदेश प्रमुख समेत रहेका नेपाल बैङ्कर्स एसोसिएसन गण्डकी उपाध्यक्ष  बुद्धि राज बराल विद्यालय स्तरका विद्यार्थीहरूका लागि बैङ्किङको आधारभूत ज्ञानहरू समेटिएको कोर्सको डिजाइन गर्नुपर्ने बताए । बैंकीङबिना अर्थतन्त्र सम्भव नरहेको बताउँदै उनले यदि विद्यालयस्तरबाटै बैङ्किङबारे पढाई हुने हो भने वित्तिय साक्षरता प्रभावकारी हुने बताए । नेपालमा बैङ्क तथा वित्तिय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कको अनुमति नलिईकन वित्तिय कारोबार गर्न नपाउने बताउँदै राष्ट्र बैङ्कको अनुमति बिना सहकारी संस्थाहरूले ठूला कारोबारहरू गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा डेभलपमेन्ट बैङ्क एशोसिएसनका प्रतिनिधि हरि बुढाथोकी, नेपाल बीमा प्राधिकरण गण्डकी कार्यालय प्रमुख  शम्भु प्रसाद मिश्र, इम्पोरियल सेक्युरिटिज कम्पनी लिमिटेडका अर्जुन बराल, कालिका माइक्रो फाइनान्सका वरिष्ठ अधिकृत यम प्रसाद अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रश्न तथा जिज्ञासाहरू समेत राखेका थिए । स्वागत  सहायक निर्देशक अञ्जना जोशीले गरेकी थिईन् भने सञ्चालन अमृता पौडेलले गरेकी थिईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0