पोखरा । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा मिनी म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष मिनी म्याराथन प्रतियोगिता आयोजना सञ्चालन गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिए ।
मध्यनेपाल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमवीर गुरुङले वडाले पर्यटन प्रवर्द्धनका काम गरिरहेको बताए । ‘पछिल्लो क्रममा नेपालमा पनि आन्तरिक पर्यटनको सम्भावना बढ्दो छ । जसका लागि हाम्रो यो क्षेत्र पनि एउटा गन्तव्य बन्न सक्छ । यसैका लागि पनि हामी काम गरिरहेका छौँ । हाम्रा सामाजिक जनजीवन र यहाँका प्राकृतिक तथा साँस्कृतिक पक्षहरू नै समिभञ्ज्याङको मूल आकर्षण हो’ अध्यक्ष गुरुङले भने ।
तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला, पोखराको फेवाताल तथा अन्नपूर्ण हिम शृङ्खला राम्रोसँग अवलोकन गर्न सकिने र हाम्रा स्थानीय ठाउँहरूको पनि चिनारी होस् भन्ने चाहना स्वरूप म्याराथन आयोजना गरिएको सचिव इभन जोशीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद तीस हजार र मेडल, द्वितीय हुनेले नगद बीस हजार र मेडल, तृतीय हुनेले नगद दस हजार र मेडल प्राप्त गर्ने छन् भने तीन जना धावकलाई तीन हजार र मेडलले सम्मान गरिने कुरा सचिव जोशीले खुलाए ।
















