पोखरा। नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको बताइन्। महिलालाई समान अधिकार र पहुँचका लागि वंशीय र अंशिय अधिकारका लागि बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चता भई सकेको अवस्थामा अव महिलालाई कानुनको बारेमा शिक्षा र आर्थिक रुपमा माथि उठ्न आवश्यक रहेको बताइन्। उनले महानगरपालिकाले न्यायमा पहुँच बढाउन महिला पुरुष समसचेतना कार्यक्रम सहित आर्थिक शशिक्तकरणका लागि उपप्रमुख सँग महिला कार्यक्रम सञ्चालन गरेको बताइन् ।
गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले हरेक क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको बताउदैन आवाज उठाउन छोड्न नहुने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्तौलाले महिलाहरूले आफ्नो शिक्षित र सक्षम बनाउदै लागे अर्थपूर्ण सहभागिता सुनिश्चित हुँदै जाने बताइन्।
पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले महिला महिला बीचको एकता र उद्यमशीलताको विकासलेनै महिलाका हक र अधिकार प्राप्त हुने बताइन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डे, गैह्र सरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी लगायतले आफ्नो धारण राखे ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र सञ्चालन महिला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कञ्चन थापाले गरेकी थिइन् ।
















