पोखरा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तरगत कास्कीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले दिएको जानकारी अनुसार कास्कीका तीनवटै क्षेत्रमा मतगणना सम्पन्न भएको हो ।
जसअनुसार कास्कीमा प्रत्यक्षतर्फ क्लिनस्विप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक तर्फ पनि लोकप्रिय मत प्राप्त भएको छ । तीन वटा क्षेत्रमा गरेर रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले २८ हजार ६ सय ५६ मत प्राप्त गरेको छ । रास्वपाले कास्की १ मा ४१ हजार ३ सय ५६ मत, कास्की २ मा ३३ हजार ६ सय ५७ मत र कास्की ३ ३८ हजार ६ सय १५ मत प्राप्त गरेको छ । नेपाली काङ्ग्रेसलाई कास्की १ मा १० हजार ७ सय ७८ मत, कास्की २ मा ६ हजार २ सय ७६ मत र कास्की ३ मा ११ हजार ६ सय २ मत प्राप्त भएको छ ।
अघिल्लो निर्वाचन लोकप्रिय मत प्राप्त गरेको नेकपा एमालेको पक्षमा २४ हजार १ सय ९९ मत मात्र प्राप्त भएको छ । एमालेले कास्की १ मा ९ हजार ५ सय ७५ मत, कास्की २ मा ६ हजार २ सय ७७ मत र कास्की ३ मा ८ हजार ३ सय ४७ मत प्राप्त गरेको हो ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीलाई ५ हजार ७ सय ६३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ६ हजार ४ सय ६६ मत, श्रम संस्कृति पार्टीलाई ३ हजार ५ सय ६४ मत, राष्ट्रिय परिवर्तन पार्टीलाई १ हजार ७२ मत प्राप्त भएको छ । कास्कीमा समानुपातिक सूचीमा रहेका सबै पार्टीले मत प्राप्त गरेपनि केही पार्टी एक अङ्कमा, केही पार्टी दुई अङ्कमा र केही पार्टी ३ अङ्कमा सीमित बने ।
समानुपातिक तर्फ कास्कीमा ४ हजार ६ सय ९८ मत बदर भएको छ । यसपालिको निर्वाचनमा कास्की क्षेत्र नं. १ मा ७१ हजार ८ सय ६ मत, क्षेत्र नं. २ मा ५३ हजार ३ सय ९५ र क्षेत्र नं. ३ मा ६६ हजार २ सय २४ गरेर कुल १ लाख ९१ हजार ४ सय २५ मत खसेकोमा कास्की १ मा १ हजार ८ सय ५२ मत, कास्की २ मा १ हजार २ सय ८ मत र कास्की ३ मा १ हजार ६ सय ३८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
















