पोखरा। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केही शर्मा ओलीलाई पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेका हुन्।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शाहले ४९ हजार ६ सय १४ मतान्तरले मतान्तरसहित विजय हासिल गरेका हुन्। बालेन्द्रले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गरे । मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका शाहले अन्तिमसम्म सो अग्रता कायम राख्दै जित सुनिश्चित गरेका थिए।
देशकै चर्चित प्रतिस्पर्धामध्ये एक मानिएको झापा–५ मा पूर्वप्रधानमन्त्री ओली र स्वतन्त्र छविका उम्मेदवार शाहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। तर अन्तिम परिणामले मतदाताले परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएको विश्लेषण गरिएको छ।
विजयपछि शाहले मतदाताप्रति आभार व्यक्त गर्दै जनताले दिएको विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विकास, सुशासन र जनताको आवाज संसदसम्म पुर्याउने आफ्नो मुख्य प्राथमिकता रहने बताएका छन्।
झापा–५ को नतिजा सार्वजनिक भएसँगै विभिन्न स्थानमा समर्थकहरूले खुसीयाली मनाएका छन्। राजनीतिक विश्लेषकहरूले भने यो परिणामलाई नेपाली राजनीतिमा नयाँ पुस्ता र वैकल्पिक शक्तिको उदयको संकेतका रूपमा हेरेका छन्।
















