पोखरा । कास्कीमा मतदान सम्पन्न भएर निर्वाचन अधिकृतहरूका कार्यालयमा मतपेटिका आएको दुई घण्टा भित्रमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । यसरी मतगणना सुरु भएपछि २४ घण्टामा नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको कास्कीमा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले बताए ।

उनका अनुसार प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नं १ को पोखरा महानगरपालिका वडा नं‍ १२ को कार्यालयमा मतगणना हुनेछ । क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँमा र क्षेत्र नं  ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँमा मतगणना हुने उनले खुलाए । यतिबेला मतगणनास्थलको निर्माणको तयारी समेत भैरहेको उनले जनाए । मतगणना स्थललाई तारजाली लगाएर व्यवस्थित गर्ने तथा सिसिटिभी मार्फत मनिटरिङ गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृत बेलबासेले मतदाता नामावलीमा नाम भएका कारागार कार्यालयमा रहेका कैदीबन्दी र निर्वाचनमा नखटिएका सरकारी कर्मचारीको लागि कास्कीमा दुईवटा अस्थायी मतदान केन्द्र रहेको समेत बताए । उनका अनुसार मतदान केन्द्रमा खटिएका मतदाता नामावलीमा नाम भएका  कर्मचारीले आफू खटिएको मतदान केन्द्र मार्फत  समानुपातिक तर्फ मत राख्न पाउनेछन्। 

 अधिकांश मतदान स्थल विद्यालयमा रहेको केही मतदान स्थलमा भवन नभएको कारण सोही अनुसारको टेन्ट लगायतको व्यवस्था मिलाइएको बताइएको छ । उनले सबै मतदातालाई निर्धक्कका साथ मत जाहेर गर्न र मतदान केन्द्रमा खटिएका कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा गरी २१ सय ८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका जानकारी दिए ।

कास्कीमा कुल १ सय ५३ वटा मतदान स्थल र ३ सय ६३ वटा मतदान केन्द्र छन् । मतदान स्थलमा मतदाता सङ्ख्याको चापलाई हेरेर मतदान मतदान केन्द्रहरूको सङ्ख्या निर्धारण गरिएको छ । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार कास्की क्षेत्र नम्बर १ मा १ लाख १६ हजार ८ सय ७८ मतदाता छन् । यस्तै, क्षेत्र नम्बर २ मा ८४ हजार १ सय ३४ र क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ५ सय ६० जना मतदाता छन् । कास्कीका १ सय ५३ मतदान स्थलमध्ये ५६ वटालाई अति संवेदनशील, ५४ वटालाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखिएको छ ।

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थाको खाका पनि तयार गरिएको छ । कास्कीमा १ हजार ५७ नेपाल प्रहरी र २ हजार ८ जना निर्वाचन प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । सुरक्षाका लागि १२ वटा मोबाइल टोली परिचालन गरिनेछ । पोखरा महानगरमा ४ र प्रत्येक गाउँपालिकामा २ वटा टोली रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0