पोखरा । कास्की क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार दामोदर वैरागीले पोखरा महानगरपालिका–२४ अन्तर्गत पामे, वास्कोट, लौरुक, कार्कीको तगरा र माझथुम क्षेत्रमा शनिबार घरदैलो गरेका छन् । त्यहाँका स्थानीय बासिन्दाले वैरागीलाई युवा मैत्री नीति निर्माणमा अग्रसर हुन आग्रह गर्दै आफूहरू मत दिन तयार रहेको बताए । स्थानीयले युवा लक्षित स्पष्ट कार्ययोजना, वातावरण संरक्षण र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने प्रतिवद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
स्थानीय मतदातासँगको संवादमा वैरागीले युवा केन्द्रित नीति निर्माण तथा आवश्यक परे संविधान संशोधनमार्फत युवालाई रोजगारी, उद्यम र सीप विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । विदेश पलायनलाई कम गर्दै जल, जमिन र जङ्गलमा आधारित उत्पादनमुखी अर्थतन्त्र विकासका लागि सहुलियतपूर्ण ऋण प्रवाह र उद्यमशीलतालाई प्रोत्साहन गरिने उनको भनाई छ ।
उनले फेवातालको मुहान हर्पन खोला संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने बताए । तालभन्दा माथिका ठाडा खोलाबाट वर्षेनी हुने कटान र क्षति न्यूनीकरणका लागि दीर्घकालीन संरक्षण योजना अघि सारिने उनले उल्लेख गरे ।
वडाहरूमा जाने कनेक्टिभिटी सडकहरू गुणस्तरीय बनाइने, ग्रामीण क्षेत्रमा आधारभूत पूर्वाधार सुदृढ गरिने र कृषि तथा पर्यटनसँग जोडिएका सडक सञ्जाल सुधार गरिने कार्यक्रमसमेत अघि सारिएको छ । अभियानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा २४ कमिटीको सक्रिय सहभागिता रहेको थियो ।
















