पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको शनिबार मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे र लापसे जाँच गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा अनुगमन गरिएको थियो।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा बाराही घाटमा रहेका डुङ्गा चालकलाई मापसे र लापसे चेक गर्दा एकजना चालक मापसे गरेको अवस्थामा र ४ जना चालक गाँजाजन्य पदार्थ सेवन (गापसे) गरेको अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए ।

मापसे र लापसे गरेर डुङ्गा चलाउन हुने रहेनछ भन्नेमा सजग गराउनको लागि यो कार्य गरिएको उनले प्रष्ट पारे । अनुगमनका क्रममा भेटिएका मापसे र गापसे गर्ने डुङ्गाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही अगाडि बढाउने उनको भनाइ छ । यो अनुगमन कार्य निरन्तर रहने उनले जनाए ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनका उपाध्यक्ष रुद्र भुजेलले यसरी चेकिङ महिनामा एक पटक गर्नुपर्ने बताए । फेवा डुङ्गा व्यवसायी सङ्गठन अन्तरगतका डुङ्गाले ८ वटा ठाउँबाट सेवा दिइरहेको र सबैभन्दा बढी सेवा बाराही घाटबाट दिने गरिएको जनाए ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले डुङ्गा चालकले लापरबाही गर्दा यहाँ आउने पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकोले सतर्क गराउनका लागि अनुगमन गरिएको बताए । विगत देखिनै अनुगमनको कार्य गरिदै आएको भन्दै डुङ्गा चालकलाई जिम्मेबारी गराउनका लागि यो कार्यक्रम गरिएको उनले खुलाए ।
फेवातालमा ७ सय ७६ वटा डुङ्गा रहेकोमा बाराहीघाटमा मात्र ३ सय ५६ डुङ्गाहरू रहने गरेका छन् । अध्यक्ष पराजुलीले यो अनुगमनको कार्यक्रमलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।

















