पोखरा । सडेन डेथमा सहारा क्लब पोखराका गोलकिपर टिकेन्द्र थापा नायक बन्दा मनाङ मर्स्याङदी क्लब पराजित हुन पुगेको छ । बुधबार पोखरा रङ्गशालामा २५ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा प्रतिष्पर्धा गरेका यी दुई टिमले निर्धारित समय र अतिरिक्त समयमा समेत पाएका अवसर सदुपयोग गरेर गोल गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।
सडेन डेथमा मनाङ मर्स्याङदी क्लबका कप्तान सविन खड्काको प्रहार सहारा का गोलकिपर टिकेन्द्र थापाले रोक्न सफल भएका थिए । जसका कारण ७–६ गोल अन्तरले खेल जित्दै सहारा फाइनलमा पुग्न सफल भएको छ । सहाराको लागि बिक्की चाम्लिङ राई, विनय तामाङ, मुकुन्द कुमार न्युरे, शिसश थापा, प्रसन्न श्रेष्ठ, आशिष गुरुङ र सुशील लामाले गोल गरे । मनाङ मर्स्याङदीका कप्तान सविन चुक्दा दिपेश गुरुङ, आशिष श्रेष्ठ, ज्ञान बहादुर पुलामी, नवराज गुरुङ, रोनिश ढेके राजबहाक, जिदेओन नोह किरेमेहले गोल गरेका थिए । जित सँग सहारा फाइनलमा प्रवेश गरेकाे छ ।
खेलमा सहारा क्लबका ताये डायनियल बादारु ‘प्लेयर अफ दि म्याच’ घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लब र आभा एफसी उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिनेछ ।
















