पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज मङ्गलबार देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।
यता पोखरामा माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ता कार्यलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि राजनीतिक दल र पत्रकारहरूसँग छलफल कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागी कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचन आचारसंहिता पालना भएरनभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताए। आचारसंहिता आफैँमा कानुनी दस्तावेज नभएपनि यसको उल्लङ्घन हुँदा कानुन आकर्षित हुने उनको भनाइ छ । आचारसंहिता उल्लङ्घनका घटनामा उम्मेदवारको मनोनयन नै रद्दसमेत हुन सक्ने अवस्था आउन सक्ने उल्लेख गरे । मुख्य निर्वाचन अधिकृत बेल्बासेले सबैको लक्ष्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको समेत बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताइन् । निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उनको भनाइ छ । तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ शर्माले बताइन्। उनका अनुसार जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटिनेछन् ।
कास्की क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत राजन खनालले मङ्गलबार हुने उम्मेदवार मनोनयनको तयारी पूरा भएको बताए । उनले एकै पटकमा भीडभाड हुन नदिन राजनीतिक दलहरूलाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको बताउनुभयो । कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइड र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने सहायक निर्वाचन अधिकृत खनालले बताए ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता–२०८२ का विषयमा प्रस्तुतीकरण राखेका थिए। उनले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको बताए । आचारसंहिता विपरीत मिथ्यापूर्ण सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने, र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई रु एक लाखसम्मको जरिवानासहित कानुनी कारबाही हुने भन्दै आचारसंहिता पालनाका सन्दर्भमा प्रभावकारी अनुगमन र निगरानी हुने खुलाए ।
नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताए। आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टी, कास्कीका संयोजक विश्वप्रकाश लामिछाने आचारसंहिता पालनामा विगतका निर्वाचनमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए । संसदीय पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले विगतका उदाहरणबाट राजनीतिक दल र सञ्चारमाध्यमबाटै आचारसंहिता उल्लङ्घनका घटना बढी हुने गरेको पाइएको बताए । उनले पत्रकारलाई निर्वाचनसम्बन्धी समाचार सङ्कलनमा सहज पहुँच दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपाने, कास्की क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत दीपक गिरी लगायतले बोलेका थिए ।















