पोखरा । मानवसेवा आश्रम पोखरा शाखाले स्थापना समयदेखि हालसम्म १६ सय ४९ जना सडक सहयोगापेक्षी मानवको उद्धार गरेको छ । जसमा पुरुष ७ सय २ जना रहेका छन् भने महिला ९ सय ४७ जना छन् । आश्रमको पोखरा शाखाले शुक्रबार हालसम्मका प्रतिवेदन र वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको हो ।
उद्धार गरिएका मध्ये ११ सय ५७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । जसमा ४ सय ६२ जना महिला र ६ सय ९५ जना पुरुषको पारिवारिक पुनर्मिलन गरिएको आश्रमका केन्द्रीय सदस्य सदिस पुनले जानकारी दिए । उद्धार गरिएका मध्ये १७० जनाको निधन भएको छ । निधन हुने पुरुषको सङ्ख्या ८९ छ भने महिलाको सङ्ख्या ८१ जना रहेको छ । स्वेच्छाले आश्रम छोड्नेको सङ्ख्या ९ सय जना रहेको छ भने ४७ जनाको सामुदायिक पुनर्स्थापन गरिएको आश्रमको प्रतिवेदनमा उल्लेख छ । आश्रमले पारिवारिक पुनर्मिलन वा स्वेच्छाले आश्रम छाडेर गएकाहरू पुनः सडक आश्रित बन्न पुगेपछि उनीहरूको समेत उद्धार गर्ने गरेको छ । आश्रमको पोखरा शाखाले हालसम्म २७५ जनाको पुनःउद्धार गरेको छ ।
आश्रम पोखरा शाखाले गत आर्थिक वर्ष २०८१/८२ मा मात्र २ सय ८३ जनाको उद्धार गरेको छ । जसमा पुरुष एक सय ७१ जना छन् भने महिलाको सङ्ख्या एक सय १२ रहेको छ । उद्धार गरिएकामध्ये १५ जनाको मृत्यु भएको जनाईएको छ । ९० जनाको भने पारिवारिक पुनर्मिलन गराइएको छ । सबैभन्दा बढि कास्की र कास्कीको पनि सबैभन्दा बढि पोखरा महानगरपालिकाबाट सडक सहयोगापेक्षीको उद्धार गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मानवसेवा आश्रमले गरेको कामको प्रशंसा गर्दै समयसमयमा सामाजिक परीक्षणका लागि सार्वजनिक सुनवाई, आयव्यय सार्वजनिक गर्न सुझाव दिए । हाल मानसिक स्वास्थ्यका बिरामीहरू बढ्दै गएकाले गण्डकीमा मानसिक स्वास्थ्योपचार केन्द्रको आवश्यकता औँल्याए । पोखरा सिर्जनाचोकस्थित समन्वय समितिको जग्गामा मानसिक स्वास्थ्योपचार केन्द्र स्थापना गर्नका लागि पहल गरिएपनि प्रदेश सरकारको बेवास्ताका कारण पुरा हुन नसकेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पोखरा ९ सडक सहयोगापेक्षी मानवहरु धेरै भेटिने वडाका रुपमा रहेको बताए । मानवसेवा आश्रमले पोखरामा शाखा स्थापना गरेर काम गर्न थालेपछी अहिले त्यो समस्या हट्न थालेको बताए । सडक आश्रितहरूलाई आश्रमसम्म लैजान वडाले पनि समन्वय गर्ने गरेको उनले बताए ।
पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरालाई सडक मानवरहित सहरका रुपमा विकास गर्नका लागि मानवसेवा आश्रमको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले सडक सहयोगापेक्षी मानव व्यवस्थापन गर्नका लागि मानवसेवा आश्रमले महत्वपूर्ण भूमिका खेलेको जसकारण पोखराको सडकमा अहिले सडक मानव घट्दै गएको बताए । मानवसेवा आश्रमको आर्थिक प्रतिवेदन पोखरा शाखाकी सह संयोजक सन्जु मोक्तानले प्रस्तुत गरेकी थिइन् ।
















