पोखरा । रेबान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिष परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ ।

संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी सङ्गठनको टोलीले प्रथम, कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोलीले द्वितीय तथा विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको टोलीले तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा विजयी हुने टोलीले खसी, द्वितीय स्थान हासिल गर्नेले बोका तथा तृतीय स्थान हासिल गर्ने टोलीले भाले पुरस्कार प्राप्त गरे । महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारका रुपमा टोकला चियाको तर्फबाट नगद रु ५ हजार प्रदान गरिएको थियो ।

 उनीहरूलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले एक समारोहका बीच पुरस्कार वितरण गरे । महोत्सवमा मङ्गलबारदेखि रस्साकस्सी प्रतियोगिता पनि शुरु भएको छ । मङ्गलबार ल्होछार समेत परेकाले दर्शकहरूको  घुइँचो देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0