लेखनाथ। पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा बिहानै देखि दर्शकहरूको बाक्लो उपस्थिति देखियो  ।

मध्यान्ह देखि खुलेको मौसमसँगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि बढ्दै जाँदा महोत्सव स्थलमा दर्शकको बाक्लो उपस्थितिलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई व्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत व्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरूलाई आपतकालीन गेट खोलेर बाहिर निस्कने ब्यवस्था मिलाइएको थियो ।

महोत्सवको आठौँ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरूले बच्चा बच्चिलाई डोऱ्याउदै महोत्सव स्थल भित्र छिरेकाले अन्य दिनको तुलनामा विहीवार दर्शकको संख्या दोब्बरले नै वृद्धि भएको आयोजकको दावी रहेको छ ।

मेलाको थप आकर्षणको रुपमा रहेको विद्यालय स्तरीय प्रस्तुती अन्तरगत विहीवार लिटल फ्लावर एजुकेसनल सेकेन्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मन्टेश्वरी सिलसिला स्कुलका प्रस्तुतिले महोत्सव स्थलमा थप रोचक बनेको थियो ।

यसैबीच जातजातिको भेषभुषा तर्फ भण्डारढिक नेवाःखलको प्रस्तुती रहेको थियो भने महिलाहरूको सन्मानका लागि राखिएको रतौली तर्फ खास्टेताल बाराही महिला समुहको प्रस्तुती रहेको थियो ।

पुस ३ गते देखि चलेको महोत्सवको आठौँ दिन चलिरहँदा विहीवार मात्र १ करोड बराबरको आर्थिक कारोबार भएको र अहिलेसम्म आउँदा ७ करोड ८० लाख बराबरको कारोबार भएको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ विहीवार मात्र ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक ध्रुबबाबु भट्टराईले जानकारी दिएका छन् ।  

यसैबीच महोत्सवको आठौँ दिन शिव हमाल, राजन कार्की, परशुराम अधिकारी, सपना गाहामगर, नविना सुवेदी र भूमिका गिरीले प्रस्तुती दिएका थिए भने जानुका पौडेल(प्याकुली)निरू खड्काले प्रस्तुति दिए भने बेलुका कन्सर्टमा गायक ओम गुरुङ, र्‍यापर माइँला र यम नेपालीको प्रस्तुतीले स्टेज तताएको थियो ।दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0