पोखरा  ।  पोखरामा पौष ९ गते बुधबारदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगिताको बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिहान साढे १० बजे उद्‌घाटन गर्नेछन् । एथलेटिक्सका खेलहरू भने बिहानैबाट सुरु हुनेछन् । अध्यक्ष गोदारका अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । 

पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी हुनेछन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी बन्ने निश्चित भएको छ ।

एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिष्पर्धा गर्नेछन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिष्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिष्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी बन्ने सदस्य सचिव अधिकारीले खुलाए । 

भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ  सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्ने अध्यक्ष गोदारले जानकारी दिए ।

यसैगरी मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । अन्य विधाका खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जनाए ।  उद्घाटन समारोहमा मार्च पास, सांस्कृतिक कार्यक्रम र तेक्वान्दो डेमोस्ट्रेसन समेत हुनेछ । प्रतियोगितालाई भव्य बनाउन अध्यक्ष दीपक बहादुर गोदारको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति र १० वटा विभिन्न उपसमिति निर्माण गरिएको आयोजकको भनाइ छ । व्यवस्थापन तथा निर्देशन समिति सहित सबै उपसमितिको बैठक म‌ंगलबार बसेको थियो । बैठकमा सबै समितिका संयोजक तथा सदस्यले कार्यप्रगतिको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0