पोखरा ।  गृहमन्त्री ओम प्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन भयरहित ढङ्गले सम्पन्न गर्न सरकारले तयारी गरिरहेको बताएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए।

निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनीतिक दलसहित सरोकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको गृहमन्त्री अर्यालले बताए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालको भनाई छ ।

बैठकमा गण्डकी प्रदेशको सुरक्षा चुनौतीको विश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र गर्नुपर्ने तयारीबारे छलफल गरी निष्कर्ष निकाल्ने गृहमन्त्री अर्यालले बताए । उनले शान्ति सुव्यवस्था कायम गर्नुका साथै निर्वाचनको वातावरण सिर्जनामा प्रदेश सरकारको विशेष भूमिका रहने बताउँदै सरकारले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात पनि प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको बताए ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न नसके मुलुकको अस्तित्वमाथि नै चुनौती थपिन सक्ने बताए । अघिपछिको चुनावमा जस्तो साधारण अवस्था अहिले नरहेको बताउँदै उनले यसपटक सुरक्षा चुनौती थपिएको बताए । गएको भदौ २४ गते भएको घटनाले सुरक्षा निकायको मनोबल गिरेको र जनताले सुरक्षा निकायप्रति पूर्ण विश्वस्त हुन नसकेको अवस्था रहेको बताउँदै त्यसमा अपराधीहरू अझै जेलबाहिर रहेकाले पनि थप चुनौती थपिएको बताए ।

मुख्यमन्त्री पाण्डेले सङ्घ, प्रदेश र स्थानीय तह गरी देशको ७ सय ६१ सरकारमध्ये अहिले राजनीतिक दलको एउटा मात्रै सरकार नभएको बताउँदै निर्वाचन सफल बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । राजनीतिक दल र सरकारबीच विश्वासिलो वातावरण बनाउन सके मात्रै निर्वाचन र सुरक्षा चुनौतीलाई सामूहिक रूपमा सामना गर्न सकिने उनको भनाइ थियो ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारीसहित गण्डकीका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0