विराटनगर । पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ पूर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवसायीको टोलीले नेपालको पूर्वी शहर विराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेबान पोखराले संयुक्त रुपमा यि शहरहरूमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पूर्वेलीलाई पोखरा आउन आग्रह गरे।

उनले यतिबेला पूर्वी नेपाल र पोखरासँगको सडक सञ्जालपनि उत्कृष्ट रहेको बताउँदै विगतमा बाटोमा हुने विभिन्न झन्झटहरू टरेको उल्लेख गरे। पोखरालाई पर्यटकीय राजधानी शहर घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले औँल्याए । मौसम लगायत सबै दृष्टिकोणबाट पोखरा घुम्न यतिबेला अनुकुल भएको जनाउँदै उनले पोखरा घुम्न आव्हान गरे।

पत्रकार सम्मेलनमा रेबान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले पुष १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराए । ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको उनले जनाए।

गौतमका अनुसार महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुङ्गा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरू समावेश गरिने छ । सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।

सो अवसरमा पोखरा र पोखरा सडक महोत्सवको प्रवर्द्धनात्मक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसअघि नेपाल पत्रकार महासङ्घ इटहरीले भ्रमणकारी पोखरेली पर्यटन व्यवसायीको टोलीलाई रुद्राक्षको माला अर्पण गर्दै स्वागत गरेको थियो ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि  र सह प्रायोजकमा यति डिस्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिस्टिलरी प्रालि रहेका छन् । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण  वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने छ । रेबान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

समारोहमा बोल्दै होटल संघ चितनका अध्यक्ष ओम पाण्डेले पुष ११ देखि १३ गते सम्म हुन लागेको हात्ति महोत्सवका बारेमा जानकारी दिंदै अवलोकनका लागि आव्हान गर्नुभयो । २० सदस्यि उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेबान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।

त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0