पोखरा । गायक तथा सङ्गीतकार जय कुमार परियारको नयाँ गीत ‘मनै पानी पानी भो..’ सार्वजनिक भएको छ । रामजी पौडेलले रचना गरेको गीतमा जयसँगै चर्चित गायिका कोमल वलीको आवाज सुन्न पाइन्छ । सङ्गीत सिर्जना जयले नै गरेको गीत आशिष अविरलले एरेन्ज गरेका हुन् ।
रोमान्टिक शैलीको गीतको भिडियो समेत सुन्दर बनेको छ । शिव विकले निर्देशन गरेको भिडियोमा कुन्दन र स्वस्तिका फिर्चड छन् । उनीहरूको रोमान्स भिडियोमा हेर्न पाइन्छ । रविन विकको सम्पादन र शम्भु चालिसेको छायाङ्कनमा तयार भएको भिडियोको पोष्ट प्रोडक्सनको काम शिव फोरएस मिडियामा भएको हो । जय म्युजिकको प्रस्तुतीमा तयार भएको गीत हाइलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

त्यसोत पहिलो एल्बम ‘कल्ले लाने हो बाट नेपाली साँगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल व्यक्ति हुन् जय कुमार । कला तथा संगीतप्रति सानैदेखि रुचि राख्ने उनको ५ वर्षको उमेरबाटनै नृत्यको माध्यमबाट कलाकारिता क्षेत्रमा प्रवेश भएको थियो । १२ वर्षको उमेरबाट पोखराको डाँफे कला मन्दिरमा आवद्ध भै उनले कलाकारिता क्षेत्रको यात्रा अगाडि बढाएका उनी यसै क्षेत्रमा निरन्तर सक्रिय छन् ।
उनले २०५२ सालमा पोखराको पहिलो डान्स ट्रेनिङ सेन्टरको रुपमा आदर्श कला केन्द्रको स्थापना गरेका थिए । उनले २०५४ सालमा आफ्नै आवाज, रचना र संगीतमा फर्की आउने बाचा गर्दै’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरे । उनले पोखराका दोहोरी साँझमा समेत उतिको सक्रिय बन्दै लामो समयदेखि निरन्तर काम गरिरहेका छन् । उनी सान्नानी दोहोरी साँझ पोखराका सञ्चालक पनि हुन् ।
राम्रो नृत्यकार रहेका उनले ठुलो पर्दाका चलचित्र तथा एक दर्जन बढी सानो पर्दाको चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन् । भारतको शिलाङमा बुबा गम्भिर र आमा चन्द्रिमाया परियारको पाँचौ सन्तानको रुपमा जन्मिएका जयको स्थायी ठेगाना भने खौला लाकुरी, पर्वत हो । नयाँ गीत सुनेर हेरेर प्रतिक्रिया दिन श्रोता दर्शक र शुभचिन्तकमा उनले आग्रह गरेका छन् । केही समयको अन्तरालमा ल्याएको गीतले चर्चा बढ्ने उनको आशा छ ।
भिडियो लिङ्क









