पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ मा टोल सुरक्षा समितिहरूलाई लिडरसिप, सकारात्मक सोचको शक्ति र जीवन मूल्यसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । वडा कार्यालयको आयोजनामा सोमबार भएको प्रशिक्षणमा वडाभित्र रहेको ७७ वटा टोल सुरक्षा समितिबाट एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई उत्प्रेरक तथा शिक्षाविद् डा. तुलसी प्रभास खनालले प्रशिक्षण दिएका थिए । सहभागीहरूलाई सकारात्मक रहन प्रेरित गर्दै मुख्यप्रशिक्षक डा. खनालले हसिलो मानिसमा नेतृत्व क्षमता हुने बताए । उनले आफ्नो प्रस्तुती मार्फत सहभागीको ध्यान खिच्दै नेतृत्व क्षमता कसरी बढाउन सकिन्छ भन्नेबारे प्रष्ट पारे ।

वडाअध्यक्ष बोध बहादुर कार्कीले आफू र आफ्नो टोललाई कसरी सुरक्षा गर्ने, कसरी सकारात्मक बन्ने र आफूसँगै आफ्नो समुदायलाई कसरी नैतिकवान् बनाउने भन्ने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको बताए । दुईदिने सम्म चल्ने प्रशिक्षण कार्यक्रममा पहिलो दिन वडाभित्रका टोलविकास संस्थाअन्तर्गत सुरक्षा समितिका एकजना पुरुष, एक जना महिला गरी दुईदुई जनालाई तालिम प्रदान गरिएको हो ।
भोलि मङ्गलबार वडाभित्रका ५ वटा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रशिक्षण दिइने छ । अध्यक्ष कार्कीका अनुसार दुई सिफ्टमा दिइने उक्त तालिममा ३ सय ५० विद्यार्थीको सहभागिता रहने छ ।

माछापुच्छ्रे सामुदायिक सेवा भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । यसबाहेक वडा नं. १४ ले वडाभित्रका महिलाहरूलाई प्राथमिकता दिएर साढे तीन वर्षमा महिला सशक्तिकरणको लागि कानुनी साक्षरता, उद्घोषण तालिम, मादल बजाउने, गुडिया बनाउने, अचार बनाउने, सिलाइकटाइ तालिम, ब्युटिसियन तालिम प्रदान गरिएको अध्यक्ष कार्कीले बताए । तालिमपश्चात अनुदानमा सिलाई मेसिनहरू उपलब्ध गराएको जनाईएको छ ।











