पोखरा । विश्व एड्स दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ कास्की, एड्स हेल्थकेयर फाउन्डेसन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको संयुक्त आयोजनामा महासङ्घ कास्कीको पोखरा ७ स्थित सभाहलमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रेमराज पंगेनीले समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगायतका दिवसमा पत्रकारसँग अन्तरक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ सञ्चार हुने बताए । पँगेनीले अस्पतालले एआरटी सेन्टरमार्फत सङ्क्रमित बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको बताए । उनले अस्पतालको एआरटी कार्यक्रमलाई प्रभावकारी बनाउन एएचएफ नेपालले नियमित काउन्सिलिङ, फलोअप र सङ्क्रमित पहिचान गर्ने कार्यमा सहकार्य र सहयोग गर्दै आएको प्रति आभार समेत व्यक्त गरे ।

कार्यक्रममा एचआइभी र पोखरा एआरटीले गर्दै आएका कार्यका बारेमा प्रस्तुति राख्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका फिजिसियन डा.सरदचन्द्र बरालले एचआइभी सङ्क्रमण र एड्स रोग उपचारका हिसाबले अन्य रोग भन्दा पनि सर्वसुलभ भएतापनि समाज हुने लाञ्छना र भेदभावका कारण संक्रमितहरू निकटको स्वास्थ्य केन्द्र भन्दा पनि अन्य केन्द्रहरूबाट सेवा लिने गरेको बताए । डा.बरालले एचआईभी स्क्रीनिङ गर्दा एक पटक मात्रै पोजिटिभ देखिँदैमा सङ्क्रमण पुष्टि नहुने बताउँदै कम्तिमा दुईपटक सम्म परिक्षण गर्नुपर्ने बताए । उनले अहिले एचआईभी पूर्ण रुपमा निर्मूल पार्न नसकिएपनि यसको असरलाई नगन्य बनाउने औषधीहरू आइसकेको बताउँदै उपचार सहज र सरल भएको बताए । एचआईभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उनको भनाई छ ।

प्रादेशिक जनस्वास्थ्य केन्द्रका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स रोग निवारणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताए । उनले लाञ्छना र भेदभावका कारण अझै पनि सम्भावित सङ्क्रमितहरू उपचार र परीक्षणमा खुलेर आउन नचाहँदा जोखिम बढ्ने गरेको बताए। गण्डकी प्रदेशमा गएको गत आर्थिक वर्षमा एक सय ५६ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ । क्षय कुष्ठ रोग अधिकृत बसौलाका अनुसार गत आर्थिक वर्षमा २७ हजार ७ सय ४० जनामा एचआइभी परिक्षण गर्दा एक सय ५६ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको हो । कास्कीमा ५ हजार एक सय १७ जनामा परिक्षण गर्दा एक सय ३ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष एवम् सल्लाहकार दिपेन्द्र श्रेष्ठ, एड्स रोग सङ्घका केन्द्रिय सचिव मनोज गुरुङ लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीका प्रमुख विद्या कोइराला र सञ्चालन महासङ्घ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ रहेको छ ।










