पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा आबद्ध स्थानीय यातायात प्रालि, पोखराको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष स्वाँरले यातायात व्यवसायीहरूले राईड सेयरिङ प्रविधिको विरोध गरेको आरोप लगाइने गरेको बताउँदै त्यसको खण्डन गरे ।
उनले निजी सवारी साधनहरूलाई भाडामा सवारी सञ्चालन गर्न नदिनुपर्ने यातायात व्यवसायीहरूको मागलाई प्रविधिको विरुद्धमा गएको भन्ने भाष्य निर्माण भएको बताए । उनले नीजि सवारी साधनले भाडामा सवारी सञ्चालन गर्न नपाउने कानुन पनि बन्न लागेको र त्यसका लागि गण्डकी प्रदेश सरकारसँग पटकपटक छलफल भइरहेको बताउँदै कानुन निर्माणपछि कार्यान्वयन र उचित अनुगमन हुनुपर्ने बताए ।
स्थानीय यातायात प्रालिका अध्यक्ष केदार प्रसाद पौडेलले कास्कीमा ११ वटा र गण्डकी प्रदेशमा ३६ वटा यातायात प्रालिहरू महासङ्घमा आबद्ध रहेको जानकारी दिए । व्यवसायीहरूले गरेको लगानीको सुनिश्चितता दिनेबारे सबैले सोच्न जरुरी रहेको बताए । जथाभावी रुपमा यातायात प्रालिहरू खुलिरहेको बताउँदै यसलाई महासङ्घले नियमन गरि उचित नीति निर्माण गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका संयोजक समेत रहेका पौडेलले सार्वजनिक यातायात सेवा सङ्कटमा पर्ने अवस्था रहेको बताए । निजी सवारी साधनले यात्रु बोक्ने, जथाभावी यातायात प्रालिहरू खुल्ने लगायत क्रियाकलापले सार्वजनिक यातायात सेवा धरापमा पर्ने बताउँदै यसलाई बचाउन यातायात व्यवसायीसँगै, नागरिक समाज र सम्बन्धित निकाय पनि लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोज, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ वरिष्ठ उपाध्यक्ष ऐन कुमार साइ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ केन्द्रीय सचिव भानुभक्त बराल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष योगेन्द्र बहादुर केसी, एकीकृत यातायात मजदुर सङ्गठन गण्डकीका अध्यक्ष तिलक विश्वकर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन प्रबन्धक निर्देशक रामचन्द्र शर्माले गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले यातायात क्षेत्रमा आबद्ध व्यवसायी र मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्ने, यातायात क्षेत्रलाई मर्यादित बनाउनुपर्ने, पोखरामा व्यवस्थित बसपार्क हुनुपर्ने लगायत विषयमा आफ्नो धारणा राखेका थिए ।










