पोखरा । पोखरामा जारी नवौँ पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ । ७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको समीकरण भने पूरा भएको छैन ।

पोल ‘ए’ मा रहेको बोहोराफाट समाज जापान ६ अङ्कसहित शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पोल ‘ए’ मा नै रहेको ठकुरी समाज ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेको पोखरा युनाइटेडको ३ अङ्क छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र भने अङ्कविहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बोहोराफाटले एक खेल खेल्न बाँकी छ ।

पोल ‘बी’ मा रहेका एपीएफ पोखरा र एनवाईसी गलकोट बागलुङ समान ६/६ अङ्कसहित सेमिफाइनलमा स्थान पक्का गरेपनि समूह विजेता र समूह उपविजेता लागि भएको खेल लाइट प्रोस्टेटका कारण खेल स्थगित भयो ।

आज भएको लिगचरणको पाचौं खेलमा पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३,२५–१८२५–१५ ले पराजित गर्‍यो । छैटौँ खेलमा बोहोराफाट समाज जापानले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो

बोहोराफाटले पोखरालाई २५–१८, २५–१६र २५–२३ ले पराजित गर्‍यो । आज नै भएको लिगचरणको तेस्रो खेलमा ठकुरी समाज तनहुँले पोखरा युनाइटेडलाई ३–२ को सेटमा पराजित गर्‍यो

सातौँ खेलमा ठकुरी समाजले पहिलो सेट २५–२३ ले जितेपनि दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेट २५–२० ले उत्कृष्ट पुनरागमन गरेको ठकुरी समाजले पाँचौ तथा निर्णायक सेट २२–२० ले जित्यो । पराजित भएको पोखरा युनाइटेडले ठकुरी समाजबाट एक अङ्क खोज्न भने सफल भयो । 

आज नै भएको लिगचरणको आठौ खेल एपीएफ पोखरा र एनवाईसी गलकोट बागलुङ बीचको खेल भने, लाइट प्रोस्टेटका कारण स्थगित भएको छ । दुवै टिमले २/२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोस्टेटका कारण स्थगित भएको हो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट छन्त्याल समाजमा सञ्चालन भइरहेको छ ।

पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र  दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।


उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।   पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५/२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।

यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0