पोखरा ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालले मेरो देश मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान २०८२ सुरु गरेको छ । परिषदले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर राष्ट्रव्यापी अभियान पोखरामा पनि सुरु भएको जानकारी गराएको हो । 

देशको सकारात्मक रूपान्तरणका लागि नागरिकमा अनुशासन, नैतिकता, चरित्र, इमान्दारिता र राष्ट्रिय दायित्वबोध आवश्यक भएको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै परिषदले सो अभियान सुरु गरेको परिषदका राष्ट्रिय सचिव  दिप्सन गुरुङले जानकारी दिए । जबसम्म व्यक्ति निर्माण हुँदैन देशको समृद्धि कल्पना गर्न नसकिने बताउँदै गुरुङले व्यक्तिलाई इमान्दार, नैतिकवान् र अनुशासित बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताए ।  

अभियान अन्तर्गत देशभरका युवा विद्यार्थीहरूबाट सुझाव सङ्कलन, राष्ट्रप्रति कर्तव्य निर्वहण र समर्पणभाव जगाउनका लागि राष्ट्रका लागि सङ्कल्प अभियान चलाउने, क्याम्पस कलेजका युवामाझ सकारात्मक संवाद शृङ्खला सञ्चालन गर्ने, युवा उत्प्रेरणा कार्यक्रम सञ्चालन, साहित्य, पर्चा तथा पोष्टरमार्फत नागरिक कर्तव्यबारे स्पष्ट पार्ने, नागरिक गोष्ठी लगायत कार्यक्रमहरु गरिने जनाईएको छ । परिषदका गण्डकी सचिव सन्तोष शर्मा पौडेलले प्राकृतिक, धार्मिक, सामाजिक र साँस्कृतिक सम्पदाको संरक्षणसँगै यसमा नागरिकलाई आफ्नो दायित्वबोध गराउनु अभियानको मुख्य उद्देश्य रहेको बताए । इमानदार नागरिक नै समृद्ध राष्ट्रका आधार हुन् भन्ने भाव विकसित गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य सविना पौडेलले परिषद् गीत प्रस्तुत गरेकी थिइन् । आजबाट सुरु भएको अभियान आगामी पौष १० गतेसम्म देशका ७७ जिल्ला, सबै पालिका तहसम्म पुर्‍याइने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0