लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घले यही पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेको छ । पहिलो चरणमा सङ्घका सदस्यहरूका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरूका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइने र स्वदेशी उत्पादनहरूको प्रर्वद्धनको लागी मेड ईन नेपाल अन्तर्गत केही स्टलहरूको व्यवस्थापन गरिने संयोजक थापाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरू समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुँदै आइरहेको महोत्सवले हालको विषम परिस्थितिका कारण शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने प्रचार प्रसार समितिका संयोजक ध्रुबबाबु भट्टराईले बताए ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल, पशुपति बिस्कुट, हेटौँडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।












