पोखरा । गरिमा विकास बैङ्क लिमिटेडको आयोजनामा भएको वृहत रक्तदान कार्यक्रममा ६०२ युनिट रगत सङ्कलन भएको छ । १९औँ वार्षिकोत्सवको अवसरमा आइतबार बैङ्कले देशका विभिन्न ८ स्थानमा गरेको वृहत रक्तदानमा ६ सय २ युनिट रगत सङ्कलन भएको हो । बैङ्कले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रूपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको हो ।

वार्षिकोत्सवको अवसरमा पोखरा सभागृहमा आयोजित रक्तदानमा मात्र एक सय २४ युनिट रगत सङ्कलन भएको छ । गरिमा विकास बैङ्कका पूर्व अध्यक्ष चन्द्रकान्त बरालको प्रमुख आतिथ्यतामा सभागृहमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा पूर्व सीईओ गोविन्द प्रसाद ढकाल, पूर्व निर्देशक केशव ढकालको समेत विशेष उपस्थिति रहेको थियो ।
गरिमा विकास बैङ्क पोखरा क्षेत्रका क्षेत्रीय प्रबन्धक मेघबहादुर केसीले स्थापनाकालदेखि नै बैङ्कले स्थापना दिवसमा विविध सामाजिक कार्यहरू गर्दै आएको बताए ।
गरिमा विकास बैङ्क पोखरा सभागृहका शाखा प्रबन्धक सूर्यबहादुर रानाभाटले आज नै बाटुलेचौरस्थित लिला आधारभूत विद्यालयका ५२ जना विद्यार्थीलाई बाटुलेचौर शाखाले न्यानो कपडा वितरण गरेको जानकारी दिए । त्यस्तै हेम्जा शाखाले श्री गौरिशङ्कर आधारभूत विद्यालयमा पानी शुद्धीकरण मेसिन प्रदान गरेको रानाभाटले बताए ।
बैङ्कले देशका विभिन्न १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामाग्री, न्यानो विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाइ सामाग्री हस्तान्तरण, मातातीर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साइ राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो ।
यसअघि शनिबार बैङ्कले काठमाडौँमा “स्वस्थ जीवनशैली का लागि खेलकुद” भन्ने नाराका साथ गरिमा सडक दौड २०८२ गरेको थियो । उक्त दौडमा एक हजारभन्दा बढी धावकहरूको सहभागिता रहेको जनाईएको छ ।












