पोखरा । अब गुरुङ चलचित्रहरू पनि ओटीटी प्लेटफर्ममा हेर्न सकिने भएको छ । त्यसका लागि विश्व टेलिभिजन दिवसको अवसरमा मुनाल फिल्मस् प्रालिले ओटीटी प्लेटफर्म ‘रोधी फ्लिक्स’ लन्च गरेको छ । जसमा ३ सय रुपैयाँ तिरेर गुरुङ चलचित्रहरू हेर्न सकिने छ । पोखरामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ओटीटी प्लेटफर्म रोधी फ्लिक्स लन्च गरिएको हो ।
रोधी फ्लिक्समा चलचित्र हेर्नका लागि विदेशमा रहेकाले मास्टर भिसाबाट पैसा तिरेर हेर्न सक्ने छन् भने नेपालमा भने खल्ती र ईसेवाबाट समेत पैसा तिर्न सक्ने छन् । रोधीफ्लीक्समा हेर्न पाइने पहिलो चलचित्रका रुपमा गुरुङ चलचित्र कर्म क्याँ (कर्मको बाटो) प्रिमियर भएको छ । गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका अध्यक्ष राज बहादुर गुरुङ राजेशले एप्सको शुभारम्भ गरे भने फिल्मको प्रिमियरको उद्घाटन गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका संस्थापक अध्यक्ष समेत रहेका अभिनेता माओत्से गुरुङले गरेका हुन् ।
मुनाल फिल्मस् प्रालिका अध्यक्ष एवं जिफानका पूर्व अध्यक्ष भोज बहादुर गुरुङले लामो समयको प्रयासपछि ओटीटी प्लेटफर्म ल्याइएको बताए । वि.सं. २०५२ सालमा पाते बाट सुरु भएको गुरुङ चलचित्रको इतिहास ३० वर्ष पुरा भइसकेको छ । लामो समय बितिसक्दा समेत प्रविधिमा जान नसकिरहेको अवस्थामा गुरुङ चलचित्र ओटीटी प्लेटफर्ममा जानु आफैमा सुखद भएको बताउँदै भविष्यमा अरु नेपाली चलचित्रहरू पनि थप्दै लैजाने अध्यक्ष गुरुङले बताए ।
चलचित्र कर्म क्याँ की निर्देशक जसमाया गुरुङ जसुले पहिलोपटक कर्म क्याँमार्फत एकल निर्देशनमा डेब्यु गरेको समय स्मरण गरिन् । उनले गुरुङ भाषा, कला र संस्कार संस्कृतिबारे बुझ्न चलचित्र हेर्नुपर्ने निर्देशक बताइन् ।
कार्यक्रममा गुरुङ चलचित्र कर्म क्याँ का लेखक शङ्कर गुरुङ ‘बतासे’ले आफ्नो यात्राका बारेमा बोलेका थिए । टस बहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।











