पोखरा । नेकपा एमालेले कात्तिक १५ गते शनिबार पोखरामा मोटर साइकल ऱ्याली निकाल्ने भएको छ । संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकता विरुद्ध नेकपा (एमाले)ले मोटरसाइकल र्याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
जेन्जी प्रर्दशनको क्रममा भएको आगजनी तोडफोड र लुटपाटको विरुद्धमा शान्ति सामाजिक सद्भावका कायम गर्नका लागि ऱ्याली निकाल्न लागिएको अध्यक्ष अधिकारीको भनाइ छ ।
दिउँसो २ बजे पोखराको सभागृहबाट सुरु हुने ऱ्याली न्यूरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै सभागृहमा पुगेर समापान हुनेछ ।
अध्यक्ष अधिकारीले देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी कदम र अस्थिरताको प्रयासका विरुद्ध प्रर्दशन गर्न लागेको बताए। उनले संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र ऐक्यवद्धताको सन्देश दिन र्याली गर्न लागेको उल्लेख गरे।
एमालेको आगामी मंसिर २७, २८ र २९ गते पोखरामा गर्ने ११ औं महाधिवेशन समेत हुँदैछ त्यसको तयारी पनि सुरु गर्न लागिएको उनको भनाइ छ । यसको लागि कार्तिक १५ गते बस्ने एमाले सचिवालय बैठकले कार्यतालिका सहितको निर्णय गर्ने बताइएको छ । त्यसपछि महाधिवेशनको तयारीमा तीव्रता दिइने कास्की अध्यक्ष अधिकारीको भनाइ छ ।










