पोखरा । कास्कीमा यसवर्ष धानको उत्पादन बढ्ने आकलन गरिएको छ । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार यसवर्ष मौसम अनुकुल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने आँकलन गरिएको हो । यसवर्ष पोखरामा लगाइएका धानमा रोगहरू समेत देखिएको छैन ।
पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलमा विगतका वर्षहरूमा झण्डै ३८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । यसवर्ष मौसम, सिँचाइ, रासायनिक मल एवं कीटनाशक औषधीहरूको सहज उपलब्धताका कारण उत्पादन बढ्ने आँकलन गरिएको हो । पछिल्लो समय पोखरामा जग्गा बाँझो राख्नेक्रम समेत घटेको छ ।
पोखराको ५० प्रतिशत खेतीयोग्य क्षेत्रमा जेठोबुढो धान खेती गरिन्छ । बाँकी जमिनमा पहेँले, झिनुवा लगायत स्थानीय प्रजातिका धान र उन्नत जातका धानखेती गरिन्छ ।
फेवाफाँट, कुँडहर, विरौटा, हेमजा, खराने, आर्वा, अर्मला, पटनेरी, सिसुवा, सुरौदी, गगनगौँडालगायत फाटमा धानखेती हुने गर्छ । यी मध्ये कतिपय ठाउँमा धान काटिसकिएको छ भने कतिपय ठाउँमा धान हरियो नै छ । महाशाखा प्रमुख कडरियाले मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने पूर्वानुमान गरेकाले धानबाली भित्राउँदा ध्यान दिन आग्रह गरे । काटिसकेको धान समयमै थन्क्याउन र काट्न बाँकी धानलाई मौसमको ख्याल गरेर मात्र काट्न उनको सुझाब छ।
उनले विशेषगरी जेठोबुढो धान हरियो नै रहेकाले पानी पर्दा ढल्ने सम्भावना हुने बताउँदै त्यसबारे सचेत हुन कृषकलाई आग्रह गरे । खेतबाट पानी काट्न र सुख्खा बनाउदै लैजान आग्रह गर्दै यसले धान छिप्पिनका लागि सहयोग पुग्ने उनको भनाई छ ।
पोखरामा गतवर्ष फेवाफाँटसहित केही धानखेतहरू डढुवा रोगको प्रकोप देखिएको थियो । तर यसवर्ष त्यस्ता रोगहरू नदेखिएको महाशाखाले जनाएको छ ।









