पोखरा । हालसालै आफ्नो आत्मकथा ‘युगदेखि युगसम्म’ प्रकाशनमा ल्याएका नेपाली चलचित्र महानायक राजेश हमाल बुधबार पोखरामा आउने भएका छन् । उनी ‘फाइनप्रिन्ट फिभर: घुम्ती साहित्य उत्सव’मा सहभागी हुन पोखरामा आउन लागेका हुन् । आत्मकथा प्रकाशन पश्चात पहिलोपटक पाठकसँग कुराकानी गर्न पोखरामा आउन लागेका हमालले त्यससँग सम्बन्धित विभिन्न विषयमा समेत प्रष्ट पार्नेछन् । यसका अलावा पोखरेली पाठकले उनको हस्ताक्षर सहितको पुस्तक प्राप्त गर्न समेत सक्नेछन् । उनीसँग अपिल त्रिपाठी गफिनेछन् ।
यसैगरी आफ्नो नवीनतम् कृति ‘चमेलीको फूल, बैजनी रूमाल’ लिइ आएका युवाहरू माझ लोकप्रिय लेखक सुविन भट्टराई तथा ‘शुन्यको मूल्य’ अनि ‘स्वस्पर्श”बाट पाठकहरुको मन जित्न सफल लेखक डा. नवराज केसी ‘ समेत घुम्ती साहित्य उत्सव’मा आउनेछन् । भट्टराई सनिशा भट्टराईसँग र डा.केसी उपेन्द्र पौडेलसँग गफिनेछन् ।
उनीहरु सबैले आफ्नो विचार साझा मात्र गर्ने छैनन् पाठक एवम् शुभचिन्तकहरूलाई प्रत्यक्ष भेटी कुरा गर्नेछन् । यसका अलावा पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोच थाहा पाउने अवसर पाउँनेछन् ।
साहित्य उत्सव पोखरा न्युरोडमा रहेको सिटी स्क्वायर बैङ्कवेटमा दिउँसो २ बजेबाट साँझ ६ बजेसम्म चल्नेछ । फाइनप्रिन्टले आयोजना गरेको उत्सवको स्थानीय आयोजकको रुपमा र्याण्डम रिडर्स सोसाइटी रहेको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका अध्यक्ष दीपक पराजुलीले जानकारी दिएका छन् ।
प्रवेश नि:शुल्क रहेको यो कार्यक्रममा सहभागी बनेर कलाकार तथा लेखकलाई प्रत्यक्ष रुपमा भेट्ने र उनीहरूसँग दोहोरो संवाद गर्ने अवसर समेत नगुमाउन अध्यक्ष पराजुलीले आग्रह गरेका छन् । यो कार्यक्रम गर्नुको उद्देश्य पठन संस्कृति प्रवर्द्धन, लेखक र पाठकबीच आत्मीयता बढाउनु रहेको छ ।
फाइनप्रिन्ट फिभर कार्यक्रम २०७५ बाट गर्न थालिएको थियो । यो संस्करण चौथो हो । चौथो संस्करणको फिभर अन्तरगतको कार्यक्रम यसअगाडि कार्तिक १ गते चितवनमा आयोजना गरिएको थियो ।









