पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ ले वडालाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडाले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको वडा कार्यालयलाई पुनःस्थापनाका लागि जिन्सी तथा प्राविधिक सहयोग गर्नेलाई धन्यवाद दिदैँ सम्मान गरेको हो । सोही कार्यक्रममा नेपालीको महान् पर्वहरू तिहार, छठ, नेपाल सम्वत् लगायतको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
गत भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण वडा नं १७ पनि क्षतिग्रस्त बन्न पुग्यो । यसरी क्षतिग्रस्त बनेको वडाको पुनःस्थापनाका लागि आवश्यक जिन्सी तथा प्राविधिक सहयोग उपलब्ध गराउने क्लब, आमा समूह, टोल विकास संस्था, सङ्घसंस्था तथा व्यक्तिहरूलाई धन्यवाद र सम्मान गरिएको वडाध्यक्ष राधिकाकुमारी शाही योगीले जानकारी दिइन् । घर बनाउनका लागि चारवटा पिल्लर आवश्यक परेझै वडालाई पुरानै अवस्थामा फर्काउनका लागि स्थानीय व्यक्ति एवं सङ्घसंस्थाले पिल्लरको काम गरिदिएको उनले बताइन् ।
वडाध्यक्ष शाहीले जेनजीको नाममा अराजक व्यक्तिहरूले विध्वंस मच्चाएको बताउँदै त्यसको विरुद्ध अहिले देशका सबैजसो पालिका तथा वडाहरूमा स्थानीयले एकता देखाएको बताइन् ।
अध्यक्ष शाहीले नागरिकको करले निर्माण गरेको वडा कार्यालय जल्दा जनप्रतिनिधिसँगै नागरिकहरू पनि दुखी भएको बताउँदै त्यो दुखःलाई वडावासीले एकतामा रूपान्तरण गरेको बताइन् । उनले वडा नं. १७ का नागरिकले देखाएको एकता अन्य वडाका लागि समेत उदाहरण बनेको उल्लेख गरिन्।
वडा सचिव सुरेन्द्रप्रसाद शर्माका अनुसार व्यक्ति र संस्थाले गरेर वडालाई २० लाख रुपियाँभन्दा बढी मूल्यका जिन्सी सामान सहयोग प्राप्त भएको छ । वडाले नगद सहयोग नलिएको र केवल सामग्री सहयोग मात्र स्वीकार गरिएको उनको भनाइ छ । उनीहरूले रङ्गरोगन, विद्युत् व्यवस्थापनदेखि कम्प्युटर, प्रिन्टर, कुर्ची, टेबल, दराज लगायतका सामग्री सहयोग गरेका थिए ।
वडाध्यक्ष राधिका कुमारी शाही योगीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू शिवराम भण्डारी र विक्रम गुरुङ, छोरेपाटन प्रहरी चौकीका इन्चार्ज गौतम श्रेष्ठ लगायतले बोलेका थिए । सोमबार नै वडापरिसरमा वर, पिपल, स्वामी, अम्बा, लिची, आँप, अमला लगायतका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपण समेत गरिएको थियो ।
धन्यवाद तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्यहरू तारा परियार, बिष्णुमाया थापा सहित क्लब, आमा समूह, टोल विकास संस्था, सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सहितका वडावासीहरूको सहभागीता रहेको थियो । सहयोगी मनलाई वडा कार्यालयले सम्मान समेत अर्पण गर्यो । कार्यक्रममा उपस्थित वडाबासीले वडाले गरेको कार्यको तारिफ गर्दै विभिन्न सुझाब तथा अनुभव सुनाएका थिए । उनीहरूले जनप्रतिनिधिले खेलेको भूमिकाको प्रंशसा समेत गरे ।
