पोखरा । कास्कीका एमालेले हालको परिस्थितिको डटेर सामना गर्ने भएका छन् । बुधबार एमाले पोखरा महानगरपालिका कमिटीले आयोजना गरेका कार्यकर्ता भेलाका सहभागीले पार्टी र आफूबाट भएका कमजोरीप्रति आत्म आलोचना गर्दै परिस्थितिको सामना गर्दै आफ्नो विरासतलाई कायम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनीहरूले हालको अवस्था आउनुको कारण र अब पार्टीलाई कसरी एकढिक्का बनाएर अगाडि बढाउने भन्नेमा गहन रुपमा छलफल गरेका छन् ।
भेलामा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी भित्रको कमजोरी स्वीकार गर्दै आत्मआलोचना गरे । ‘हामी त कस्ता भयौ भने आशय कार्यकर्ता भयौ के । यो कसले गरेको ठिक हो, हामीले प्रशिक्षण के गर्यौ, लाभहानि, नोक्सान पद इत्यादिमा मात्र प्रशिक्षण गरौँ । त्यसको परिणाम अब आलोचनाको त मुख्य भारी यहाँ भरि यहाँ त मेरै छ, ठिक भो म सुध्रिनै पर्छ, सच्चिनै पर्छ, सचच्चिरहने कोसिस गर्छु,’ उनले भने ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनले अबदेखि कुनै पनि राजकीय पदको दाबी नगर्ने घोषणा पनि गरे । ‘राजकीय जिम्मेवारीमा अप्ठ्यारो बेलामा काँध थाप्न तयार छु । सजिलो बेलामा राजकीय जिम्मेवारी मैले पाउनुपर्छ भनेर म कहिले पनि गर्दिन पनि घोषणा गर्न चाहन्छु,’ अधिकारीले भने ।
अधिकारीले पार्टीलाई सुदृढ गर्नका लागि आफूले जस्तोसुकै निर्णय शिरोधार्य गर्ने प्रतिबद्धता जनाए ।उनले नेपालमा ‘डिप स्टेट’ का स्टेकहोल्डरहरूले राज्य कब्जा गर्ने प्रयास गरेको र यसमा विभिन्न राजनीतिक दलका आन्तरिक विवाद र समानान्तर गतिविधिहरू पनि सहयोगी बनेको उल्लेख गरे ।

अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा कास्कीका एमाले कार्यकर्ताहरूले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए । ‘केपी ओलीलाई गिरफ्तार गर्यो भने कास्कीले सबभन्दा ठूलो जुलुस निकाल्ने छ र कास्कीले नेकपा एमाले जिम्मा लिन्छ, किनभने भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो । धेरै शहीदहरूले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरूले रगत बगाएको ठाउँमा र हिजो हिंसात्मक गतिविधि गरेर एमाले सिध्याउँछ भन्दा खेरि पनि जबर्जस्त थियो ठाउँ हो,’ अधिकारीले भने ।
एमाले कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले जिल्ला कमिटी अध्यक्षदेखि केन्द्र र वडा कमिटी अध्यक्षसम्मले अपनाएको कार्यशैली नेपाली जनतामा नपचेको स्वीकार गर्दै आजैदेखि त्यस्ता प्रवृत्ति छोड्नुपर्ने बताए । उनले नेकपा एमालेले राम्रो काम गरेकै थिएन भन्ने भाष्यको खण्डन गर्दै राष्ट्रिय हित, सामाजिक न्याय, विकास निर्माणमा उल्लेखनीय काम गर्दै आएको बताए ।

अनेरास्ववियुका पुर्व केन्द्रिय उपाध्यक्ष रश्मि आचार्यले अनेरास्ववियु र युवा संघले उद्देश्यअनुरुप काम गर्न नसक्दा जनतामा वितृष्णा पैदा हुन पुगेको बताउँदै माफी समेत मागे । लोकतान्त्रिक अभ्यासमा नेकपा एमाले अरु पार्टी भन्दा उत्कृष्ट रहेपनि जुन हिसाबमा लोकतान्त्रिक अभ्यास हुनुपर्थ्यो त्यो नभएको स्वीकार गर्दै आफू पनि गुट उपगुटमा लाग्न पुगेको बताएका उनले अवबाट कुनै गुटमा नलाग्ने घोषणा गरे ।
पोखरा महानगर कमिटिका पुर्वअध्यक्ष दीपक पौडेलले जेनजी आन्दोलनको क्रममा भएका आगजनी र तोडफोडमा संलग्नलाई अबको दुई महिनाभित्र सरकारले कारबाही नगरे आफै अगाडि सरेर सजाय दिने चेतावनी दिए । युवा संघका सदस्यहरुलाई उक्साउँदै उनले घरघरमै पुगेर अपराधमा संलग्नहरुलाई निकाल्न आफै अगाडि सर्ने बताउँदै त्यसबाट आईपर्ने मुद्दा मामिला समेत आफै बेहोर्ने समेत उल्लेख गरे ।
नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर इन्चार्ज दिलिप विक्रम शाही, महानगर कमिटी सचिव सुशील बस्नेत लगायतले बोलेका थिए । कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले विभिन्न महत्वपूर्ण सुझाव दिएका थिए ।











