पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले फुटपाथमा अव्यवस्थित रुपमा सञ्चालनमा रहेका रेष्टुरेन्टहरूमाका कारण व्यवसायमा चुनौती थपिएको बताएका छन् । जेनजी आन्दोलनसहित बाढी पहिरो लगायत प्राकृतिक विपत्तिका कारण व्यवसाय घटिरहेको समयमा करको दायरामा नरहेका रेष्टुरेन्टहरूका कारण थप समस्या निम्तिएको उनको भनाई छ । सरकारले उचित रुपमा निगरानी र अनुगमन नगर्दा करको दायरा घट्नुका साथै नियमसङ्गत ढङ्गले लगानी गरेर आएका व्यवसायीहरूलाई हतोत्साहित बनाउने काम भएको अध्यक्ष पौडेलको गुनासो छ।
पोखरामा हाल आन्तरिक तथा बाह्य पर्यटकको चाप निकै न्यून छ । जसका कारण व्यवसयाीहरू चिन्तित बनेका छन् । रेवान पोखरामा आबद्ध करिब ९० वटा रेष्टुरेन्टको अकुपेन्सी औसतमा ३० प्रतिशत सम्म रहेको अध्यक्ष पौडेलले बताए । लेकसाइड वरपर रेवानमा आबद्ध नभएका एक सय ५० को हाराहारीमा रेष्टुरेन्टहरू रहेका छन् ।
सन् २०२५को सुरुदेखि नै पोखरामा यसवर्ष पर्यटकहरूको चहलपहल सन्तोषजनक नै थियो । पोखरा मुग्लिन सडक स्तरोन्नतिको काम करिब सकिसकेको र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत उडानहरू बढ्ने क्रममा रहेको थियो । त्यस हिसाबमा हेर्दा यसवर्ष मुख्य सिजनमा पर्यटक सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने अपेक्षा गरिएको थियो । पर्यटन व्यवसायीहरू समेत उत्साहित बनेका थिए तर हालै भएको जेनजी आन्दोलन र त्यसपछिको बाढी पहिरोका कारण राजमार्ग एवं हवाई मार्ग अवरुद्ध हुँदा बाह्यसँगै आन्तरिक पर्यटकहरूलाई समेत पोखरा आउन समस्या पर्यो । पोखराको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसाय अहिले थला परेको बताउँदै यसलाई पुरानै अवस्थामा फर्काउनका सरकारले पनि राहतका प्याकेजहरू बढाउनुपर्ने उनको भनाई छ । यसका लागि पोखराका पर्यटन व्यवसायीहरूले अर्थमन्त्रीसँगै राष्ट्रबैङ्कका गभर्नरलाई भेटेर आफूहरूको माग राखेको पौडेलले बताए ।
पोखरामा दशैँको समयमा आन्तरिकसँगै बाह्य पर्यटकहरू समेत निकै आउने गर्थे । यो समयमा बाह्यमा सबैभन्दा धेरै भारतीय पर्यटकहरू हुने गरेकोमा यसवर्ष भारतीय पर्यटकहरू समेत निकै कम मात्रामा आएको पौडेलको भनाई छ ।











