पोखरा । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । बिहीबार मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरुले आज टीका र जमरा सहित आशिर्वाद थाप्ने चलन छ ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार एक दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

मुख्य दिन बाहेकका बाँकी दिनमा  बिशेषगरी माइती, मावली, ससुराली लगायतमा टीका थाप्न जाने चलन छ । कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटोमा भीड लाग्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने वडादशैं आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

 दशैंको टीकाको दोस्रो दिन पोखरा लगायतका ठाउँमा आउने जानेको चहलपहल देखिएपनि गत वर्षको तुलनामा कमी देखिएको छ । बजारमा चहलपहल बिस्तार्रै बढ्दैछ ।  कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0