भक्तपुर । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेण्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’ ज्ञवालीले भने ।
ज्ञवालीका अनुसार जेनजी आन्दोलनका क्रममा निधन भएकाहर”प्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कार्यबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ ।
भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गरेको समाचारप्रति गम्भिर ध्यानआकर्षण भएको ज्ञवालीले बताए। उनले यस अघि नै गृह मन्त्रालयबाट मिडिया ट्रायल गराएर गरिएको यस्तो निर्णयले आयोगको विश्वसनियतामा प्रश्न उठेको उल्लेख गरेका छन् ।
सरकारले राजनीतिक दलहरूलाई बाइपास गरेर जान खोजेको उनको आरोप छ । ‘सरकारले राजनीतिक दलहरूलाई पन्छाउन खोजेको मात्र नभइ निषेध गरेको, दलहरुलाई सम्पर्क, संवाद आदि गर्न नचाहेको देखिएको छ ज्ञवालीले भने ‘यी सबै घटनाप्रति हामी गम्भिर र चिन्तित पनि छौँ ।’
उपमहासचिव ज्ञवालीले सरकारले भदौ २३ र २४ गतेको आगजनी र तोडफोडको घटनामा संलग्नहरूलाई पक्राउ नगर्न दिएको निर्देशनले नेपाल प्रहरीको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको कानुन सम्मत क्षेत्राधिकारप्रति हस्तक्षेप गरेको र दोषीहरूको मनोबल बढाउने काम गरेको बताए ।
ज्ञवालीले कतिपय नेताहरूलाई भौतिक आक्रमणको धम्की दिएकोले सरकारको नियत के हो भन्ने कुरा पुष्टि हुँदै गरेको खुलाए । उनले बैठकपछि पत्रकारहरूसँग भने ‘कतिपय व्यक्तिहरू पुराना राजनीतिक दलहरूलाई चुनावमा जानै दिन्नौ भन्दैछन् । के यस्तो कुराले चुनावको सुनिश्चिता गर्दछ रु यस प्रकारले गराइएको चुनावले बैद्यता पाउँछ?’











