पोखरा। होटल सङ्घ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन–जी आन्दोलनका बाबजुद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै सङ्घले पाहुनाको स्वागतका लागि व्यवसायी तम्तयार रहेको सन्देश प्रवाह गरेको हो । नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा सङ्घले पोखराका सञ्चारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो । 

कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी गराए । ‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार विस्तारा छन्’, उनले भने– सयौँ रेस्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन । मुख्य पर्यटकीय मौसमको मुखैमा आएर जेन–जी आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रुपमा प्रभावित भए पनि यो विस्तारै पुरानै लयमा फर्कने आशा व्यवसायीहरूले व्यक्त गरेका छन् । होटल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवाहरूमा समेत व्यवसायीहरू भारी छुट दिएर पाहुनालाई स्वागत गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए ।

काठमाडौँ, चितवन र बुटवल लगायतका शहरबाट पोखरा जोडिने सडकहरू सुरक्षित र चुस्त रहेको स्मरण गराउँदै सुवेदीले काठमाडौंबाट अहिले पाँचै घण्टामा सडकमार्गबाट पोखरा आउन सकिने बताए । राति अबेर हवाई सेवा मार्फत पोखरा पुग्ने चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाउने अवस्था रहेको उनले बताए । अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरू पोखरा घुम्न आउनेमा आफूहरू आशावादी रहेको सुवेदीले सुनाए । 

आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शून्यमा पुगे पनि आफूहरू पुनः उठ्नेमा विश्वस्त रहेको उनले बताए । ‘विभिन्न विपत्ति र अप्ठ्याराहरू सामना गर्दै, पुनः उठ्दै हामी आएका छौं,’ एक भिडियो सन्देशमा सुवेदीले भनेका छन्, यो पटक पनि हामी पुनः उठ्ने छौँ । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि सङ्घका तर्फबाट दिइएको छ । अहिले पोखराका हिमालहरू पनि खुल्न थालेको, पर्यटकहरू पदयात्रामा जानेआउने क्रम नरोकिएको र शान्तिसुरक्षा पनि पूर्ववत् अवस्थामा रहेकाले पोखरा भ्रमणका लागि सङ्घले पाहुनालाई आग्रह गरेको हो ।

 यसैगरी होटल सङ्घ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पोखरा जीवित र चलायमान शहर भएको बताउँदै होटल, रेस्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठानहरू सेवाका लागि आतुर रहेको सन्देश जारी गरेका छन् । पोखरा निकै सुन्दर शहर रहेको भन्दै उनले एक भिडियो सन्देशमार्फत यहाँको हरियाली र खुलेका हिमाल मुनी घुम्न र रमाउन आउनका लागि पाहुनालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0