पोखरा । निरन्तर कर्मकाण्ड गर्दै गरेका शिल्पी समुदायका पण्डित गुरुहरूको क्षमता अभिवृद्धिका लागि  पोखरामा त्रिदिवसीय कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विश्व हिन्दु महासङ्घ शिल्पी समुदाय समन्वय विभाग केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा प्रशिक्षण सुरु भएको हो । 

कर्मकाण्ड विधिलाई व्यवस्थित गरि पुजा विधिमा एकरूपता ल्याउन र कर्मकाण्ड गरिरहेका गुरुहरूको क्षमतालाई प्रमाणित गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएका हो । पोखरा बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरमा सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै पिठाधीश गुरु डा. लेखनाथ आचार्यले जातको आधारमा अपहेलना गर्नु हाम्रो संस्कृति नभएको बताए । उनले सङ्कल्प लिएर कुनै कर्मकाण्डको काम गर्दा मन्त्र, ह्रस्व दीर्घ, सबै तत्वलाई सन्तुलन गरेर लैजानुपर्ने बताए ।

शिल्पी समुदाय समन्वय विभागका केन्द्रीय अध्यक्ष गणेश बराइलीका अनुसार प्रशिक्षणमा १२ भन्दा बढि जिल्लाबाट ५५ जना गुरु पुरोहितको सहभागिता रहेको  छ । सहभागीलाई पण्डित गुरुहरूलाई  भानुभक्त उपाध्याय र ज्योतिष डा. हरिश्चन्द्र भण्डारीले प्रशिक्षण प्रदान गर्ने अध्यक्ष बराइलीले बताए ।

सनातन धर्मको रक्षासँगै शिल्पी समुदायलाई समाजले गर्ने विभेदलाई समेत हटाउन यो प्रशिक्षणले सघाउने अध्यक्ष बराइलीको विश्वास छ । समाजमा जातीयता र छुवाछुतको भावना अझैपनि रहेको बताउँदै धार्मिक रुपमा कोहीपनि ठुलो सानो छैन भन्ने देखाउन पनि यो कार्यक्रम उपयोगी रहेको उनले बताए ।

कार्यक्रममा विश्व हिन्दु महासङ्घका केन्द्रिय उपाध्यक्ष शंकर खरालले समेत बोलेका थिए । शुक्रबार देखि सुरु भएको प्रशिक्षण कार्यक्रम भदौ १५ गतेसम्म चल्ने छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0