पोखरा । नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनतामा देखिएको चरम निराशा र आक्रोश अन्त्य गर्नको लागि निर्णायक तहको आन्दोलन गरिने बताएका छन् । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले देशमा तीन ठूला दलले आलोपालो प्रवृत्तिले शासन गरिरहँदा जनताका आधारभूत समस्याहरू समेत समाधान गर्न नसकेको जिकिर गरे । जनतामा चरम निराशा र आक्रोश बढ्दै गएको भन्दै भट्टराईले यस्तो प्रवृत्तिबाट छुटकारा दिनका लागि निर्णायक तहको आन्दोलन गर्ने निर्णयमा पुगेको प्रष्ट पारेका छन् । उनले यसका लागि पार्टीलाई व्यवस्थित गर्ने काम भइरहेको जानकारी दिए ।
मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् । आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको बताए । आफूले अहिलेसम्मै भ्रष्टाचार र अनियमितताका कुनैपनि काम नगरेको बताउँदै अध्यक्ष भट्टराईले छानविन गर्नका लागि चुनौती दिए ।
ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृत्ति रहेको उनले बताए । पहिले यो रोग कङ्ग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको आरोप उनको थियो ।
युवाहरूमा चरम निराशा आक्रोश बढ्दै गएको, विदेशिनेको लर्को थपिँदै गएको, भ्रष्टाचारको चाङ उकालो लाग्दै गएको र समग्र कृषि, वित्तीय, औद्योगिक क्षेत्रका समस्याहरू ज्युँकात्युँ रहेको उनको भनाइ थियो । त्यसविरुद्ध निर्णायक तहको आन्दोलन गर्नुपर्छ र देशलाई भरपर्दो अग्रगामी विकल्प दिनुपर्छ भन्ने निर्णय गरेको उनले बताए ।
सङ्घ, प्रदेश र स्थानीय तहमा प्रमुख ३ वटा दलका नेताहरूको भ्रष्टाचारजन्य गतिविधि, कमिसनखोरहरूको जुन पकड बनेको छ, त्यसलाई तोड्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिकरण बनाउन उनले माग गरेका छन् ।
लुम्लेमा २ दिनसम्म बसेको गण्डकीको बिस्तारित बैठकले गगण्डकी प्रदेश संयोजकको जिम्मेवारी युवा नेता नेत्र चापागाईंलाई दिइएको नेसपा नेता गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले जानकारी दिए । यसैगरी भदौको १४ गते सबै वडाको भेला गर्ने निर्णय गरेको छ । भदौको २१ गते सबै पालिकाको अधिवेशन गर्ने, कात्तिकको १५ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको देवकोटाले जानकारी दिए । देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहेको शासन व्यवस्था र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नेसपा नयाँ शक्ति आन्दोलनमा जाने निर्णय गरिएको देवकोटाले जानकारी दिए ।गण्डकी प्रदेशबाट साउन ११ गते ११ बजे ११ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्ने निर्णय समेत भएको देवकोटाले जानकारी दिए । तदर्थ समितिका अध्यक्ष नेत्र चापागाईको अध्यक्षता भएको पत्रकार सम्मेलनको सञ्चालन टिकाराम पौडेलले गरेका थिए ।














