पोखरा । पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाबारेमा अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रको आयोजनामा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, पूर्वमुख्यमन्त्री खगराज अधिकारी लगायत पोखरामा रहेका राजनीतिक दलका नेताहरू, बौद्धमार्गीहरू र सामाजिक अगुवाहरूको उपस्थितिमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो ।
उक्त गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले बुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए। प्रमुख भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने बताए । बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको उल्लेख गर्दै उनले सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुशी व्यक्त गरे । साथै ध्यानसहितको बौद्ध पाठ्यक्रममा पछिल्लो समय विदेशी विद्यार्थीहरूको आकर्षण बढ्दै गएको बताउँदै यसले बुद्ध, लुम्बिनी र नेपालप्रति विश्व समुदायको चासो बढेको उल्लेख गरे ।
गोष्ठीमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बौद्ध दर्शन जीवनसँग प्रत्यक्ष जोडिने विषय रहेकाले यसलाई सर्वव्यापी बनाउनुपर्नेमा जोड दिए। अधिकारीले बौद्ध धर्म, दर्शन, संस्कृति विश्वले थाहा पाउनुपर्ने उच्च श्रेणीको रहेको बताए । एमाले स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले पोखरामा अनुसन्धान केन्द्र स्थापना गर्न विलम्ब नगर्न अनुरोध गर्दै गण्डकी प्रदेश सरकारले यसका लागि साथ सहयोग गर्नुपर्ने र आफूले सक्दो पहल गर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी अनुसन्धान केन्द्र अन्तर्गत गण्डकी प्रदेशमा बौद्ध अनुसन्धान केन्द्र स्थापनाको पहिलो सर्वेक्षणका रुपमा अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रम संयोजक डा. मेख बहादुर खत्रीले जानकारी दिए । दुईवटा सेसनमा सम्पन्न कार्यक्रममा पहिलो सेसनमा अन्तरक्रिया भएको थियो भने दोस्रो सेसनमा कार्यपत्र प्रस्तुत गरिएको थियो । गण्डकी प्रदेशमा रहेका बौद्धमार्गी र बौद्धसम्पदाहरूलाई लक्षित गरेर पोखरामा कार्यक्रम गरिएको संयोजक खत्रीले बताए ।
लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले हाल ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको समेत थालनी गरेको छ । गोष्ठीमा सहभागीहरूले बौद्ध विश्वविद्यालयले पर्याप्त तपोभूमि, विहार बनाउँदै धार्मिक पर्यटकीय गन्तव्य बनाउन अझै मेहनत गर्न सुझाव पनि दिएका थिए ।
















