पोखरा । नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न सङ्घसंस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा मदन भण्डारी स्पोर्टस् एकेडेमीले भने १ सय टिसर्ट सहयोगको घोषणा गरेको हो ।
शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र खेल क्षेत्रलाई माथि उकास्न सबै खेलप्रेमी लाग्नुपर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । साथै खेल र खेलाडीको साथमा एकेडेमी रहँदै आएको उनले बताए ।
यता मञ्चका अध्यक्ष एमबि आस्था मगरले सहयोगदाता प्रति धन्यवाद ज्ञापन गरे । खेलप्रेमी तथा खेल सङ्घसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाइसम्म पुगेको उनको भनाई थियो ।
यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ, भने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले र उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गरिसकेको छ । त्यस्तै जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीका ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको संस्था देश सङ्घीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।
