पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले पत्रकारहरूको लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले रहेका थिए । तालिममा शनिबार कास्की जिल्ला अदालतका अदालतका स्रेस्तेदार राजन खनालले समेत सहजिकरण गरे ।
पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइँकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले सहजिकरण गरेकी थिइन् ।
तालिममा प्रमुख प्रशिक्षक गाउँलेले अदालतमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार कार्यक्षेत्रमै पुर्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसला पछि कार्यान्वयनको चरण लगायतका बारेमा पत्रकार जानकार रहनुपर्ने बताएका उनले न्यायाधीशलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरू जोगिनुपर्ने तर्फ उनले सचेत गराए ।
तालिममा कास्कीका ८० जना पत्रकारहरूको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गर्दै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात पत्रकारहरूले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
तालिम पश्चात प्रशिक्षार्थीहरू तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरूले बताएका थिए ।
