पोखरा । पोखराका महिला कलाकारहरूको सिर्जनशीलता, कला र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले पोखरामा ‘स्वरा’ सामूहिक कला प्रदर्शनी आयोजना हुने भएको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मङ्सिर १९ देखि २५ गतेसम्म पोखरा आर्ट ग्यालरी, पोखरा घर पृथ्वीचोकमा प्रदर्शनी सञ्चालन हुन लागेको हो ।
प्रदर्शनीमा चित्रकला तथा फोटोग्राफीका क्षेत्रमा क्रियाशील ४२ जना महिला कलाकारका सिर्जना राखिने पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले जानकारी दिए ।
दाहालका अनुसार महिला कलाकारहरूको सिर्जनशीलता, प्रतिभा र कलात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्दै उनीहरूका सिर्जनालाई एउटै कला ग्यालरीमार्फत दर्शकमाझ पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा चित्रकला तथा फोटो प्रदर्शनीका माध्यमबाट महिला कलाकारका विविध सिर्जना अवलोकन गर्न सकिनेछ । यसले पोखराको कला तथा सांस्कृतिक क्षेत्रको विकासमा महिला कलाकारहरूको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई समेत कला क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीको उद्घाटन मङ्सिर १९ गते शनिबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । मङ्सिर २५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा कला तथा सिर्जनाप्रेमी, साहित्यकार, कलाकार, बुद्धिजीवी तथा सर्वसाधारणलाई उपस्थितिका लागि आयोजकले आमन्त्रण गरेको छ ।
महिला सिर्जनाका रङ, अनुभूति र कलात्मक अभिव्यक्तिलाई एउटै थलोमा समेट्ने ‘स्वरा’ प्रदर्शनीले पोखराको कला क्षेत्रमा महिला कलाकारहरूको पहिचान र उपस्थितिलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
















