पोखरा ९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत पोखराका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय, कास्कीअगाडि साङ्केतिक धर्ना दिएका छन्।

बुधबार आयोजित धर्नामा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको प्रेस स्वतन्त्रताविरोधी गतिविधिप्रति सांकेतिक रूपमा विरोध जनाएका हुन्।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने सरकारी प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि हुने हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरे।

अध्यक्ष बरालले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने व्यक्तिमाथि हालसम्म कारबाही नभएको भन्दै आपत्ति जनाए।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लङ्घन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए।

सरकारका यस्ता गतिविधिले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि प्रहार गरेको उनको भनाइ थियो। पत्रकारितालाई कमजोर बनाउने र सञ्चारमाध्यममाथि नियन्त्रण कायम गर्ने कुनै पनि प्रयासविरुद्ध महासङ्घले देशव्यापी आन्दोलन अघि बढाएको उनले स्पष्ट पारे।

धर्नामा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुन्य पौडेल,नारायण कार्की सहित महासंघ कास्की र गण्डकीमा आवद्ध पत्रकार सहित पोखरास्थित विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान, पत्रकारको पेसागत सुरक्षा, श्रम अधिकारको सुनिश्चितता र सञ्चारमाध्यममाथि हुने हस्तक्षेप अन्त्य गर्न सरकारसँग माग गरेका छन्। पत्रकारहरूको धर्नाले प्रेस स्वतन्त्रताको संरक्षण, नागरिकको सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि सञ्चार क्षेत्र एकजुट रहेको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0