पोखरा ८ मंसिर । एन्टिबायोटिक औषधिको जथाभावी तथा अव्यवस्थित प्रयोगका कारण बढ्दै गएको प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) एएमआर को जोखिम न्यूनीकरण गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा सञ्चारकर्मी तथा सरोकारवालाबीच आयोजित एएमआरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले एन्टिबायोटिक औषधिको गलत प्रयोग रोक्न सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने बताए ।
मन्त्री न्यौपानेले नागरिकलाई निरोगी बनाउनु स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै मन्त्रालयको वास्तविक सफलता रोग लाग्ने नागरिकको संख्या घटाउन सक्नुमा निर्भर रहने बताए । एन्टिबायोटिक औषधिको अव्यवस्थित प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको भन्दै यसको नियन्त्रण मन्त्रालयको एकल प्रयासबाट सम्भव नहुने उनको भनाइ थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका न्यौपानेले सबै सरोकारवालाका सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण गरी मन्त्रालयले काम गरिरहेको बताए । एएमआरको जोखिमबारे नागरिकलाई सचेत गराउन र औषधिको सही प्रयोगको अभ्यास विकास गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्काले एन्टिबायोटिक औषधिको बिक्री वितरणलाई व्यवस्थित तथा नियन्त्रित बनाउन प्रयास भइरहेको जानकारी दिए । औषधिको बिक्री वितरणमा नियन्त्रण र व्यवस्थापनका लागि काम भइरहे पनि विभिन्न कारणले अपेक्षाकृत उपलब्धि हासिल गर्न चुनौती रहेको उनले बताए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रतिनिधि डा. समिर पराजुलीले पनि एएमआर नियन्त्रणका विषयमा धारणा राखेका थिए ।
अन्तरक्रियामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एएमआर फोकल पर्सन डा. शरदचन्द्र बराल, प्रादेशिक रोग नियन्त्रण केन्द्र कास्कीका महानिर्देशक मनमोहन मिश्र, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा. किरण पाण्डे तथा प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका फार्मेसी अधिकृत साजन बरालले प्राविधिक प्रस्तुति दिएका थिए ।
उनीहरूले एएमआरको परिचय, नेपाल तथा गण्डकी प्रदेशमा यसको वर्तमान अवस्था, बढ्दो जोखिम, भावी कार्यदिशा तथा जनस्तरमा पु¥याउनुपर्ने सचेतनामूलक सन्देशबारे जानकारी गराएका थिए ।
एन्टिबायोटिक औषधि चिकित्सकको सल्लाहबिना प्रयोग गर्ने, आवश्यकताभन्दा बढी सेवन गर्ने वा औषधिको मात्रा तथा अवधि पूरा नगर्ने जस्ता गलत अभ्यासले प्रतिजैविक प्रतिरोधको जोखिम बढाउन सक्ने भएकाले यस्ता गतिविधि रोक्न जनचेतना अभिवृद्धि गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिए।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बुद्धिसागर अधिकारीले गरेका थिए ।















