पोखरा ८ मंसिर। नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुरताल म्युजिकल टुर–२०८३’ आयोजना हुने भएको छ। ‘अब गुञ्जिन्छ नेपाल एउटै सुर, एउटै ताल’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सांगीतिक यात्राअन्तर्गत देशका सातै प्रदेशका १३ वटा सहरमा सांगीतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
टाइम्स मिडिया हाउस प्रालिको आयोजना तथा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको सह–आयोजनामा हुन लागेको उक्त सांगीतिक यात्राको विस्तृत जानकारी दिन मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराइएको हो।
टाइम्स मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत सुरेनकुमार नेपाली सुशीलले सांगीतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्य राखिएको बताए। उनका अनुसार पोखराको अम्मरसिंह चौरमा पौष ४ गते कार्यक्रम गरेर टुरको सुरुवात हुनेछ । त्यसपछि अन्य शहरमा कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमबाट हुने आम्दानीमध्ये खर्च कटाएर बाँकी रकमको २० प्रतिशत सामाजिक कार्यमा प्रदान गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले सांगीतिक यात्रा आयोजना गर्न लागिएको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष प्रेम सुवेदीले सांगीतिक क्षेत्रमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए। उनले सांगीतिक यात्रालाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्ने योजनाबारे पनि जानकारी गराए।
त्यसैगरी संस्थाका सदस्य शिवराम तिवारीले नेपाली मौलिक कला, संस्कृति र संगीतको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
सांगीतिक यात्रामा नेपाली संगीत क्षेत्रका चर्चित कलाकार प्रकाश सपूत एण्ड भाका नेपाल, प्रमोद खरेल एण्ड परम्परा तथा द फिरन्ते ब्यान्डको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
विभिन्न सहरमा स्थानीय कला, संस्कृति र सांगीतिक प्रतिभालाई समेत प्राथमिकता दिइने आयोजकको भनाइ छ। सांगीतिक मनोरञ्जनसँगै सामाजिक सेवाको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको यस कार्यक्रमले नेपाली संगीत र सांस्कृतिक क्षेत्रलाई देशव्यापी रूपमा जोड्ने आयोजकको विश्वास छ ।
















