पोखरा । दोस्रो मनोक्रान्ति विश्व शान्ति ध्यानमय पदयात्रा मंसिर ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । विकासनन्द फाउन्डेसन विश्व परिवारको आयोजनामा पोखराबाट सुरु हुने यात्रा स्याङ्जा, पाल्पा, कपिलवस्तु हुँदै लुम्बिनी पुगेर समापन हुनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. योगी विकासानन्दले मानिसको मनमा उठ्ने विचार, भावना र मानसिक द्वन्द्वलाई बुझ्न ध्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए । पदयात्रालाई पनि ध्यानको एउटा अभ्यासका रूपमा उनले व्याख्या गरेका छन् । मानिसले आफ्नो मनभित्र के सोचिरहेको छ, किन तनावमा छ र जीवनमा के चाहन्छ भन्ने कुरा बुझ्न ध्यानले सहयोग गर्ने उनको भनाइ छ ।
विश्व ध्यान दिवसलाई समेत मध्यनजर गर्दै आयोजना गर्न लागिएको दोस्रो मनोक्रान्ति विश्व शान्ति ध्यानमय पदयात्रामार्फत ध्यान, योग र मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्य राखिएको छ । पोखराको बाराहीघाटदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म करिब २२५ किलोमिटरको पदयात्रा गरिनेछ ।
योगी विकासानन्दले ध्यानले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै मनोसामाजिक समस्याको समाधानका लागि ध्यान प्रभावकारी माध्यम भएको बताए । मानिसको मनमा उत्पन्न हुने तनाव, चिन्ता, भय, निराशा र नकारात्मक विचारलाई व्यवस्थापन गर्न ध्यानको अभ्यास आवश्यक रहेको उनको भनाइ छ ।
उनले पदयात्राका क्रममा बाटोमा विभिन्न स्थानमा पुगेर ध्यानको महत्व, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र सकारात्मक सोचसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । यात्राका क्रममा सहभागीलाई ध्यान र योगको अभ्यास गराउँदै स्थानीय समुदायलाई समेत ध्यानप्रति आकर्षित गर्ने योजना रहेको उनले बताए ।
करिब २२५ किलोमिटरको यात्राले मानिसले दृढ इच्छाशक्ति राखे असम्भव देखिने काम पनि सम्भव बनाउन सक्छ भन्ने सन्देश प्रवाह गर्ने डा. विकासानन्दले बताए । यात्रामा १४ वर्ष उमेरका बालबालिकादेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकको सहभागिता रहने उनले जानकारी दिए ।

विश्व शान्ति ध्यानमय पदयात्रा व्यवस्थापन समिति २०८३ की संयोजक धना पुनले १० दिने पदयात्राको ९५ प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिइन् । ज्ञान प्रवचन तथा योग, ध्यान र गुरुदेव प्रवचन विशेष कार्यक्रमसँगै पदयात्रा सुरु हुने उनले बताइन् ।
समितिका सहसंयोजक खगेन्द्र पराजुलीले यात्राको पहिलो दिन बुढीखोलामा पुगेर बास बस्ने कार्यक्रम रहेको जानकारी दिए । यात्राका क्रममा विभिन्न स्थानमा डा. विकासानन्दबाट तनाव व्यवस्थापन, ध्यान र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने उनले बताए ।
कार्यक्रममा स्थानीय संयोजक यज्ञ बस्याल नेपाली र डिलाराम लामिछानेले पनि पदयात्राको तयारी तथा यसको उद्देश्यबारे धारणा राखेका थिए । पदयात्रासँगै मनोक्रान्ति आश्रम बराङडाँडामा ध्यान तथा योगसम्बन्धी विभिन्न कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् । आयोजकका अनुसार ध्यानलाई दैनिक जीवनको अभ्यास बनाउँदै व्यक्ति, परिवार र समाजमा सकारात्मक सोच, आत्मअनुशासन र मानसिक शान्तिको वातावरण निर्माण गर्नु पदयात्राको मुख्य उद्देश्य हो ।













