पाेखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि झण्डै २०० प्रतिशत मूल्यवृद्धि भएको दाबी गरेका छन् । सरकारले नागरिकको जनजीविकासँग जोडिएका सवाललाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
सोमबार नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले सरकारले नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने, विधिको शासन र कानुनी राज्यको अनुभूति गराउने तथा जनजीविकाका मुद्दामा गम्भीर बन्नुपर्ने बताए ।
तर, सरकारको पछिल्लो कार्यशैली हेर्दा त्यस्तो अनुभूति हुन नसकेको उनको भनाइ थियो । अहिले सरकारले आफूखुसी निर्णय गरिरहेको जस्तो अवस्था देखिएको उल्लेख गर्दै उनले नागरिकका दैनिक समस्याप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महामन्त्री पौडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा गण्डकी प्रदेशको प्रतिनिधित्व उल्लेखनीय रहेको बताए । आफू समेत गरी गण्डकी प्रदेशबाट ३५ जना कार्यसमितिमा निर्वाचित भएको र यो कुल प्रतिनिधित्वको २२ प्रतिशत रहेको उनले जानकारी दिए ।
प्रतिनिधित्वका हिसाबले गण्डकी प्रदेशले राम्रो स्थान हासिल गरेको उल्लेख गर्दै उनले आगामी दिनमा केन्द्रीय तहमा प्रदेशको सहभागिता र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महामन्त्री पौडेलले सदस्य संख्याका आधारमा नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी भएको दाबी गर्दै पार्टीले आफ्ना सदस्यलाई समाजसँग पर्याप्त रूपमा जोड्न नसकेको स्वीकार गरे । पार्टीलाई संस्थापक नेता बीपी कोइरालाले अघि सारेको समाजसँग जोडिने राजनीतिक अभ्यासअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । उनले पार्टीलाई जनताको दैनिक जीवन, आवश्यकता र समस्यासँग जोड्दै संगठनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
यसैगरी, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विगतमा पार्टीले आफ्ना मूल एजेन्डालाई पर्याप्त प्राथमिकता दिन नसक्दा विभिन्न समस्या उत्पन्न भएको बताए । विगतका कमजोरी सुधार गर्दै पार्टीलाई नीतिगत र वैचारिक रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
नीति र सिद्धान्तअनुसार पार्टी सञ्चालन गर्न सके मात्रै जनताको विश्वास र साथ प्राप्त हुने उल्लेख गर्दै शर्माले नेतृत्वलाई नैतिकताको ख्याल गर्न आग्रह गरे । नेपाली कांग्रेसलाई वर्तमान अवस्थासम्म ल्याउन गण्डकी प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले उक्त योगदान पार्टीका आधिकारिक दस्ताबेजमा समेटिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू रेशमबहादुर थापा, कल्पना तिवारी र किरणबाबु श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, लमजुङका सभापति टकराज गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलगायतले मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको उक्त कार्यक्रममा कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशका तर्फबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई तथा सम्मान गरिएको थियो ।













