पोखरा । कास्कीको हेमजालाई साहित्य, कला, संस्कृति र सिर्जनाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘हेमजा साहित्य महोत्सव–२०८३’ आयोजना हुने भएको छ। हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा यहीं मंसिर ५ र ६ गते पोखरा महानगरपालिका–२५, हेमजा स्थित गौरीशंकर खेल मैदानमा महोत्सवको दोस्रो संस्करण हुन लागेको हो।

महोत्सवबारे जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले महोत्सवलाई साहित्यिक उत्सवमा मात्र सीमित नराखी हेमजाको मौलिक पहिचान, भाषा, संस्कृति, पर्यटन र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा अघि बढाइएको जनाएको छ। 

प्राज्ञ एवं महाकाव्यकार शङ्करमणि त्रिपाठी छन्दमणिको परिकल्पनामा वि.सं. २०८२ देखि सुरु भएको महोत्सवको पहिलो संस्करणको सफलताबाट उत्साहित हुँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र साहित्यिक चेतनाले सम्पन्न हेमजालाई साहित्यिक पहिचान दिलाउनु महोत्सवको प्रमुख लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष सुनील गायकको भनाइ छ। हेमजालाई ‘काव्यनगरी’का रूपमा स्थापित गर्दै साहित्यिक चेतना र सामूहिक आकाङ्क्षाको केन्द्र बनाउने अभियानलाई महोत्सवले थप ऊर्जा दिने अपेक्षा गरिएको छ। महोत्सवमा ५ हजार भन्दा बढी साहित्यप्रेमीको सहभागीता रहने आयोजको अपेक्षा रहेको छ ।

महोत्सवमार्फत नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्ध विस्तार, स्थानीय प्रतिभाको पहिचान र सिर्जनशील वातावरण निर्माणलाई प्राथमिकता दिइनेछ।

त्यसैगरी नयाँ पुस्तामा पठन संस्कृति, लेखन सीप र साहित्यिक अभिरुचिको विकास गर्ने, हेमजाको प्राकृतिक तथा सांस्कृतिक पर्यटनको सम्भावना उजागर गर्ने र विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाबीचमा सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।

साहित्यिक विमर्शदेखि कविता, गजल र मुक्तक वाचनसम्म

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, गीत, बालसाहित्य, समालोचना, साहित्यिक विमर्श, स्रष्टा सम्मान तथा पुस्तकसम्बन्धी परिचर्चालगायतका कार्यक्रम समेटिएका छन्।

महोत्सवको पहिलो दिन उद्घाटन सत्रसँगै ‘कविता : अनुभूति र अभिव्यक्ति’, ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’ र ‘सारङ्गीको सङ्गीत : लोक संस्कृतिको धुन’ भजनमा हेमजा लगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

दोस्रो दिन मढीमा सिर्जना, काव्यनगरी दर्शन, कविता हुँदैआख्यान र गैरआख्यानसम्म, मुक्तक वाचन, कविता वाचन, लघुकथा वाचन र गजल वाचनका सत्रहरू आयोजना गरिने आयाेजककाे भनाइ छ ।

महोत्सवमा स्थानीय कला, संस्कृति र मौलिकतालाई विशेष प्राथमिकता दिइनेछ। पोखरा तथा देशका विभिन्न स्थानमा क्रियाशील साहित्यिक, वाङ्मयिक तथा सांस्कृतिक संस्थाहरूको सहभागितालाई समेत आयोजकले महत्त्व दिएको छ।

साहित्यको उत्सवलाई सामूहिक अभियान बनाउन आग्रह

हेमजाको माटोमा सिर्जनाका फूलहरू फुलाउने, साहित्यिक स्वरहरू गुन्जाउने र काव्यनगरीको पहिचान देशविदेशसम्म फैलाउने साझा सङ्कल्पका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

महोत्सवलाई व्यापक सहभागितामूलक र उपलब्धिमूलक बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको प्रतिष्ठानका अध्यक्ष गायकले बताएका छन्।

पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजा कला तथा साहित्यले चिनिएको क्षेत्र भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष सुनील गायकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा  महोत्सवका परिकल्पनाकार छन्दमणि त्रिपाठी, प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्याय लगायतले बोलेका थिए ।

साहित्यको उत्सव, सिर्जनाको सम्मान र काव्यनगरी हेमजाको पहिचान स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले पोखराको साहित्यिक तथा सांस्कृतिक गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0